Logo

अब पृथ्वी उल्टो घुमेपनि महाधिवेशन रोकिँदैन, अध्यक्षमा उम्मेदवारी दिन्छुः झलनाथ खनाल



काठमाडौं, १२ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब पृथ्वी उल्टो घुमेपनि महाधिवेशन नरोकिने र आफू अध्यक्षको उम्मेदवार बन्ने बताएका हुन् । अहिले पार्टीलाई वैचारिक, राजनीतिक र सैद्धान्तिक रुपले रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेकाले आफू नेतृत्वमा आउन चाहेको उनले बताए ।

‘अब पृथ्वी उल्टो दिशातिर घुक्न थाले पनि महाधिवेशन रोकिँदैन । महाधिवेशन हुँदैछ । करिब–करिब सम्पूर्ण तयारी भइसक्यो । अब प्रतिनिधिहरु आउँद ैहुनुहुन्छ । मैले पनि अध्यक्षका लागि उम्मेदवारी दिने भनेको छु । अहिलेको पार्टी जसरी अगाडि बढ्दैछ, त्यसलाई वैचारिक, राजनीतिक र सैद्धान्तिक रुपले रुपान्तरण गर्नुपर्ने आवश्यत्ता छ । पार्टीलाई रुपान्तरण गर्नुपर्ने आवश्यत्ता छ । यो रुपान्तरण भनेको वैचारिक, राजनीतिक रुपान्तरण हो । यो रुपान्तरणका निम्ति मैले उम्मेदवारी दिने भनेको छु,’– उनले भने ।

नेकपा (एमाले) बाट विद्रोह गरेर बनेको एकीकृत समाजवादी नेतृत्वका कारण सुस्पष्ट दृष्टिकोण र निर्णय लिनबाट चुकेको उनको आरोप छ । उनले चुकेका कुराहरुको समीक्षा गर्दै पार्टीलाई नयाँ धरातलबाट सच्याउन आफू अध्यक्ष बन्न चाहेको बताए ।

आफू अध्यक्षमा निर्वाचित भएको खण्डमा पार्टीलाई वैचारिक र संगठनात्मक रुपले सुदृढ बनाउने नेता खनालले प्रतिवद्धता व्यक्त गरे । उनले अन्य कम्युनिष्ट पार्टीहरुसँग पनि वैचारिक र सैद्धान्तिक धरातलमा व्यापक छलफल गरेर कम्युनिष्ट आन्दोलनलाई एकीकृत र बलियो बनाउन लागिपर्ने बताए ।

‘झलनाथ अध्यक्ष भयो भने पार्टी एमालेमा लगेर मिसाउँछ’ भनेर केही मानिसहरुले गलत प्रचार गरिरहेको उनले बताए । नेता खनालले अहिले एमालेसँग एकताको कुनै गञ्जायस नरहेको बताए । उनले एमालेमा पार्टी मिसाउँछ भनी आफूविरुद्ध कुप्रचार भएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot