Logo

विद्यालयमा प्रयोग हुने गीत सङ्गीतमा रोयल्टी लागू गरिए कडा प्रतिवादमा उत्रिने नेविसंघको चेतावनी



काठमाडौं, १२ असार । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यालयमा प्रयोग हुने गीत संगीतमा रोयल्टी लागू गरिए कडा प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । संगीत रोयल्टी संकलन समाज नेपालद्वारा संगीत रोयल्टी संकलन गर्न एजेन्सीको रुपमा नियुक्त शिव म्युजिक प्रा.लि. ले गीत संगीतको प्रयोग गर्न पूर्वअनुमति लिनुपर्ने र रोयल्टी तिर्नुपर्ने भन्दै विभिन्न विद्यालयहरुमा पत्र पठाएको थियो ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै विद्यालयहरुमा गीत संगीतको प्रयोग गर्न पूर्वअनुमति लिनुपर्ने र रोयल्टी तिर्नुपर्ने व्यवस्थाको विरोध जनाएका हुन् । स्रष्टाको उच्च सम्मान र बौद्धिक सम्पत्तिको सुरक्षा सबैको साझा दायित्व भएको विषयमा कुनै विवाद नरहेको बताउँदै उनले विद्यालयमा विद्यार्थीहरूले पाठ्यक्रम अन्तर्गत वा अतिरिक्त क्रियाकलाप कला, साहित्य, गीतसंगीत सृजना, प्रयोग गर्न पाउनुपर्ने बताएका छन् ।

गीत, संगीत विद्यार्थीको सिकाइसँगै सर्वाङ्गीण विकाससँग प्रत्यक्ष सरोकार राख्ने विषय रहेको भन्दै नेविसंघले ऐनको हवाला दिएर सार्वजनिक भैसकेका गीत संगीत विद्यालयमा हाताभित्र प्रयोग गर्दा रोयल्टी माग गरिनु अव्यवहारिक हुने बताएको छ । कला साहित्य गीत, संगीत विद्यालय पाठ्यक्रमको अभिन्न अंग बन्नु पर्ने विषयलाई केन्द्रमा राख्न आवश्यक रहेको नेविसंघको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्