Logo

एकीकृत समाजवादीले महाधिवेशनमा एमालेसहितका दललाई बोलाउने, ओली आउनेमा झलनाथको आशंका



काठमाडौं, १२ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको महाधिवेशन निर्धारित समयमा नै हुने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले महाधिवेशन निर्धारित समयमा नै हुने र आफू अध्यक्ष पदको उम्मेदवार हुने बताएका हुन् ।

नेता खनालले महाधिवेशनमा अहिले संसद्मा भएका १२ दल र संसद् बाहिर रहेका अन्य वामपन्थी घटकहरुलाई बोलाउने तयारी रहेको बताए । महाधिवेशनमा नेकपा (एमाले) लाई पनि निमन्त्रणा दिइने बताए । उनले एमाले अध्यक्ष केपी ओली आउनेमा भने आशंका व्यक्त गरे ।

‘अहिले संसद्मा भएका १२ वटा दलहरु र संसद बाहिर रहेका पनि कतिपय वामपन्थी दलहरुलाई हामी निम्ता गर्छौं । एमालेलाई पनि हामी औपचारिक रुपमा निम्ता गर्छौं । को आउनुहुन्छ को आउनुहुन्न त्यो उहाँहरुको कुरा हो,’– उनले भने ।

साथै, महाधिवेशनमा सर्वसम्मतिबाट नेतृत्व चयन हुनेमा नेता खनालले आशंका व्यक्त गरे । उनले वैचारिक राजनीतिक कार्यदिशाको आधारमा सर्वसम्मतिबाट नेतृत्व चयन हुनसके राम्रो हुने धारणा राखे । ‘सर्वसम्मति सबैभन्दा मीठो चिज हो । हरेक मति निर्माण गर्ने सर्वसम्मति । त्यो आधार भनेको वैचारिक राजनीतिक कार्यदिशा नै हो । यस कुराको आधारमा नै नेतृत्व निर्माण गर्नुपर्छ । त्यो नेतृत्वलाई नै सर्वसम्मति वा बहुमतको आधारमा चयन गर्नुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्