Logo

प्रतिष्ठानको भ्रष्टाचार पुष्टि भएपछि झलनाथको प्रतिक्रिया, ‘मेरो नाम दुरुपयोग भयो, भ्रष्टाचारीलाई कारबाही भएको ठीक छ’



काठमाडौं, १२ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो नाममा खोलिएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ मा कुनै संलग्नता नरहेको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रतिष्ठानमा नाम प्रयोग भएको बाहेक आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् ।

खनालको नाममा खोलिएको उक्त संस्थाका पदाधिकारीहरुले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ करोड ९८ लाख ३३ हजार विगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेष अदालतले भ्रष्टाचार भएको ठहर गरिसकेको छ । सो मुद्दामा मधेश प्रदेशका पूर्व अर्थमन्त्री विजय यादव, प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी, र देवेन्द्र राय दोषी ठहर भएका छन् । उनीहरुको सजाय निर्धारण आगामी असार २५ गते हुने बताइएको छ ।

खनालले कुनै पनि संस्थामा कसैले अनियमितता गरेको भए कारबाही हुनुपर्ने बताए । उनले भने, ‘कुनै पनि संस्थामा कसैले अनियमितता गरेको छ भने त्यस्ता व्यक्तिहरु माथि कारबाही हुन्छ । त्यो कारबाही हुनु राम्रो कुरा हो । मेरो नाम जोडिएको कुनै संस्थामा कसैले अनियमितता गरेको छ भने कारबाही हुनुपर्छ । मेरो नाममा कसैले संस्था बनाएको छ र त्यहाँ भ्रष्टाचार भएको छ भने ती भ्रष्टाचारीहरुमाथि कारबाही हुनैपर्छ । त्यो मेरो विरुद्धको कुरा होईन ।’

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्यापक भ्रष्टाचार भएको कुरा धेरै अगाडिदेखि उठिरहेको बताउँदै उनले कसैले कारबाही नगरेको बताए । उनले त्यस्ता कुराहरुको छानविन र कारबाही हुन आवश्यक रहेको बताए । उक्त प्रतिष्ठानभित्र भइरहेको अनियमितताको छानविन र कारबाहीको अर्थ बीपी कोइरालामाथिको कारबाहीको रुपमा बुझ्न नहुने उनले बताए ।

उनले अहिले आफ्नो नाममा रहेको प्रतिठानको नाम परिवर्तन भइसकेको पनि बताए । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम अहिले राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्‌ भएको छ । त्यसभित्र रहेका पदाधिकारीले गरेका अनियमितताको जिम्मा उनीहरुले नै लिनुपर्ने बताए ।

‘अहिले त्यो प्रतिष्ठान भन्ने नै छैन । त्यसबाट म विलकूल अलग छु । मेरो नाम जोडिएको प्रतिष्ठानमा म छैन, मेरो यसमा कुनै सम्बन्ध छैन भनेर पहिले नै मैले आफूलाई अलग बनाइसकेको छु । अब त्यसभित्र रहेका साथीभाइहरुले क–कसले के–के गरे ? त्यसको जिम्मेवारी उहाँहरु आफैं लिनुहुन्छ,’– उनले भने ।

उनले उक्त प्रतिष्ठानमा आफ्नो नाम दुरुपयोग भएको बताए । तपाईँको नाममा प्रतिष्ठान बनाउँछौं भनेर साथीहरु आएपछि आफूले सहमति दिएको पनि उनले बताए । ‘मेरो नाम राख्नेबाहेक अरु त्यसमा मेरो संलग्नता छैन । तपाईँको नाममा हामी यो संस्था बनाउँछौं नाम दिनुपर्यो भनेर साथीहरु आए त्यसबेला । त्यहाँ भ्रष्टाचार, अनियमितता सिद्ध भएका छन् भनेपछि त्यो त बेग्लै कुरा भयो । मेरो नाम दुरुपयोग भयो भनेर अहिलेको घटना क्रमले दिखिएको छ । आजको घटनाक्रमले मैले नाम दिन हुनेथिएन भन्ने बताउँछ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्