Logo

बीपी, मनमोहन र केपी ओलीबाहेक अरु प्रधानमन्त्रीले सिंहदरबारमा फोटो झुण्ड्याउने काममात्रै गरेः एमाले नेता दाहाल



काठमाडौं, १२ असार । नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णप्रसाद दाहालले भ्रष्टाचार उकुच पल्टिएको घाउजस्तो बनेको टिप्पणी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको पछिल्लो राजनीतिक अवस्थाबारे विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा भ्रष्टाचारैभ्रष्टाचार र ठगैठगको विगविगी रहेको बताएका हुन् ।

‘यो देशमा भ्रष्टाचार उकुच पल्टिएको घाउजस्तो भएको छ । जताततै भ्रष्टाचार, एक ठाउँमा मात्रै होईन । म हरेक क्षेत्रमा हेर्छु भ्रष्टाचारैभ्रष्टाचार । ठगहरुको विगविगी, हरेक क्षेत्रमा ठगहरु छन् । परिवारभित्र बाउले छोरो ठगेको छ, दाजुले भाइ ठगेको छ, भाइले दाजु ठगेको छ, छिमेकीले छिमेकी ठगेको छ । हरेक क्षेत्रमा चोर र ठगको विगविगी भयो,’– उनले भने ।

राजनीतिक दलहरुले क्रान्ति गर्न जानेको र शासन गर्न नजानेको उनको टिप्पणी छ । उनले नेपालका राजनीतिक दलहरु क्रान्तिको अभिभारा पूरा गरेपछि बहकिएको बताए । अहिलेसम्म ३८ जना देशको प्रधानमन्त्री बनेको बताउँदै उनले कामको आधारमा सम्झना लायक भने तीन जनामात्रै रहेको बताए ।

नेता दाहालले बीपी कोइराला, मनमोहन अधिकारी र एमाले अध्यक्ष केपी ओलीले मात्रै आफ्नो प्रधानमन्त्रीत्व कालमा सम्झन लायक काम गरेको दाबी गरे । ‘देशका प्रधानमन्त्री धेरै भइसके । अहिले ३८ जना भइसके । उल्लेख्य काम गरेको तीन÷चार वटालाई हामी गणना गर्छौं । बीपी कोइराला, मनमोहन अधिकारी, त्यसपछि एमालेका अध्यक्ष केपी ओली । बाँकी त उही सिंहदरबारमा फोटो राख्नेभन्दा छैनन्,’– उनले भने ।

साथै, निजामती सेवादेखि राजनीतिक नियुक्तिसम्म जताजतै भ्रष्टाचार रहेको उनले बताए । नेता दाहालले भ्रष्टाचार गर्न मुख्यसचिवदेखि राजनीतिककर्मी समेत नछोडेको बताए । ‘निजामती कर्मचारीमा मौका पाउनेवित्तिकै मुख्य सचिव, गृहसचिव पनि नछोड्ने, कुनै राजनीतिक नियुक्ति लिएर कोही गएको हुन्छ । उसले अकुत सम्पत्ति कमाउने मात्रै देख्ने । उ फर्किएर आउँदाखेरी उसलाई अख्तियारले मुद्दा हाल्नैपर्छ । उसले त्यहाँ केही सुधारेको हुँदैन । भ्रष्टाचारमा जेल जान्छ,’– नेता दाहालले भने ।

साथै, आफ्नो स्थानीय तह बागमती नगरपालिकाका मेयर भरत थापादेखि प्रमुख प्रशासकीय अधिकृतसम्म भ्रष्टाचार मुद्दामा निलम्बित रहेको उनले सुनाए । देशभरी ७५३ पालिकामै भ्रष्टाचार रहेको उनको दाबी छ । उनले भ्रष्टाचार गर्न कसैले पनि नछोडेको आरोप लगाए ।

उनले गाउँका सबै जमिन बाँझो राखेर एकले अर्कालाई ठग्ने पेशा मौलाइरहेको बताए । भ्रष्टाचारको मूल नै खराब रहेको उनले दाबी गरे । यसको कारण पत्ता लगाएर मुहानमा नै सफाइ नगरेसम्म धारामा खराब पानी गइरहने टिप्पणी गरे । उनले कर्मचारीतन्त्र र राजनीतिक बृत्तसम्म ठगैठगको विगविगी रहेको बताए ।

२०४६ देखि आफू राजनीतिमा निरन्तर रहेको बताउँदै उनले अब टालटुले कुरा गरेर समस्याको समाधान हुने बताए । राजनीतिक प्रणाली र शासकीय प्रणालीमा नै दोष रहेको उनको भनाइ छ । संविधानमा खान पाउने, बाँच्न पाउनेलगायतका सबै कुरा लेखिएपनि व्यवहारमा नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot