Logo

भ्रष्टाचारको फाइल खोलेर कांग्रेसका नेताहरुलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेलाई श्याम घिमिरेको खुल्ला चूनौती (भिडिओसहित)



काठमाडौं, १२ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य श्याम घिमिरेले गरिबी, अभाव र सांस्कृतिको दोषका कारण देशमा भ्रष्टाचार मौलाइरहेको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको पछिल्लो राजनीतिक अवस्थाबारे विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले दक्षिण एसियामै सबैभन्दा बढी भ्रष्टाचार विरोधी कानुन बनाएर पनि नेपालमा भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताए ।

‘हामी भाकल गर्छौं, भगवानलाई पनि घुस खुवाउन खोज्छौं । संस्कृतिगत दोष पनि होला, त्यसैले भ्रष्टाचार हुन्छ । कतिपय कुरा भनेको गरिबी र अभावको कारणले पनि भ्रष्टाचार हुन्छ । कानुनको कुरा छ, दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचारविरोधी कानुन बनेको देश नेपाल हो,’– उनले भने ।

एउटा सरकारले भ्रष्टाचार नियन्त्रण गर्छु भनेर नसक्ने उनको दाबी छ । उनले भ्रष्टाचार मौलाउनुमा राजनीतिकदेखि व्यूरोक्रेशीसम्म संरचना दोषी रहेको बताए । आजको दिनमा कुनै एउटा सरकारले भ्रष्टाचार नियन्त्रण गर्दिन्छु भन्यो भने पत्याउन सकिँदैन । राजनीतिक संरचना पनि दोषी छ, व्यूरोक्रेसीको पनि संरचना दोषी छ । एउटा सरकारले सम्पूर्ण भ्रष्टाचारलाई निमूर्ल गर्न सक्ने अवस्था छैन । अलिकति कमबेसी होला, तर निर्मूल गर्न सकिने अवस्था छैन,’– उनले भने ।

साथै, फरक प्रसंगमा उनले नेपालको अर्थतन्त्र एकदमै जटिलल मोडमा रहेको बताए । आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा साढे १२ खर्ब रुपैयाँ राजश्वको प्रक्षेपण गरिए पनि ब्यायको अनुमान भने साढे १८ खर्ब रहेको स्मरण राउँदै उनले ६ खर्बको अन्तर परिपूर्ति गर्दा देशलाई झनै ऋण थपिने बताए । नेता घिमिरेले आन्तरिक ऋण उठाउनु झनै खतरनाक रहेको बताए । उनले आन्तरिक ऋणका कारण निजी क्षेत्रले ऋण नपाउने समस्या आउनसक्ने बताए ।

‘नेपालको अर्थतन्त्र अत्यन्तै जटिल अवस्थामा छ । अहिले लगभग साढे १२ खर्ब रुपैयाँ राजश्वको प्रक्षेपण गरिएको छ भने साढे १८ खर्ब खर्चको प्रक्षेपण गरिएको छ । आय र व्यायको बीचमा ६ अर्बको अन्तर छ ।’ उनले भने, ‘२४ खर्ब ऋण पुगिसक्यो । आन्तरिक ऋण र बाह्य ऋण लगभग आधा–आधा लिने भनिएको छ । आन्तरिक ऋण धेरै उठाउनु खतरनाक छ । आन्तरिक ऋणको समयावधि थोरै हुन्छ । ऋणको ब्याजदर बढी हुन्छ । व्यवसायिक विकासका लागि प्रयोग हुने तरलता सरकारले खिचेर लगिदिँदा समस्या हुन्छ ।’

साथै, बाह्य ऋण लिन पनि त्यति सहज नरहेको उनले बताए । अर्को वर्ष ३० खर्ब ऋण पुग्दा मुलुकलाई कतातिर पुर्याउने हो भन्ने प्रश्न उब्जिएको बताए । आगामी पाँच वर्षमा मुलुकले ऋण लिनसक्ने क्यापासिटी नै समाप्त हुने बताए । आगामी पाँच वर्षभित्र नेपालको लोनको लिमिट सकिने उनको दाबी छ ।

साथै, नेपालमा लगानीको वातारण नरहेको बताए । अहिले १० विघाको हदबन्दी राखिएको बताए । त्यो भन्दा बढी हदबन्दी छुटमा लिन पाइने अवस्था रहेपनि बेच्न नपाइने, बैंकमा राखेर ऋण लिन नपाइने लगायतको कानुनी जटिलताका कारण लगानी हुन नसकेको उनले बताए । १० विघाको हदबन्दी राखेर कृषिमा पनि औद्योगिक विकास हुन नसक्ने उनको दाबी छ ।

नेपालमा सबैभन्दा बढी धार्मिक, सहासिक र मनोरञ्जन टुरिजमको विकास गर्न आवश्यक रहेको उनले बताए । नेपालको लागि उपयुक्त विकासको माध्यम सर्भिस सेक्टर हुनसक्ने र त्यसमा पनि टुरिजम नै उपयुक्त रहेको बताए । उनले अख्तियार प्रमुख प्रेम राई कतिपय मुद्दामा पूर्वाग्राही भएको हो कि जस्तो देखिएको आरोप लगाए । ‘कतिपय मुद्दाहरुमा राजनीतिक मुख हेरेर, व्यक्ति केन्द्रीत भएर निर्णय गरिएको हो कि ? मुद्दा चलाउने, नचलाउने ? जस्तै, अहिले टेरामक्समा लामो समयदेखि अनिर्णित छ । कतिपय गम्भीर विषयमा अख्तियारले जुन ढङ्गले काम गर्नुपर्ने हो कमजोर देखिएको छ,’– नेता घिमिरेले भने ।

नेता घिमिरेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसका नेताहरुलाई भ्रष्टाचार प्रकरणमा जेल हालेर देखाउन चूनौति दिए । उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसद्को रोस्ट्रममै उभिएर ‘भ्रष्टाचारको फाइल खोल्छु, मैले भ्रष्टाचारका फाइल खोले भने कांग्रेसका नेताहरु जेलमा हुनुहुनेछ’ भनेको स्मरण गराउँदै उनले को–को ? कहाँ–कहाँ भ्रष्टाचारी छन् ? खोजेर कारबाहीको दायरामा ल्याउन चूनौती दिए । यसरी भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याएमा गृहमन्त्रीलाई स्यालुट गर्ने उनले बताए ।

‘गृहमन्त्री हामीसँग चिँढिनु नै भयो । हामीले उठाएका प्रश्नहरुले उहाँ चिँढिनुपर्ने आवश्यक्ता थियो कि थिएन ? अहिले छानविन समिति गठन भयो । अब कांग्रेसले यति गरेपछि ‘भ्रष्टाचारको फाइल खोल्छु, मैले भ्रष्टाचारका फाइल खोले भने कांग्रेसका नेताहरु जेलमा हुनुहुनेछ’ भनेर गृहमन्त्रीले संसद्कै रोस्टममा उभिएर भाषण गर्नुभएको छ ।’ उनले भने, ‘गरे भइगयो नि त ? म उहाँलाई खुल्ला चुनौति दिन चाहन्छु । गर्नुस्, त्यो भ्रष्टाचारी कहाँ–कहाँ छन् ? को–को छन् ? कांग्रेसमात्रै होईन, अन्य पार्टीमा पनि होलान् ? तपाईँ भ्रष्टाचारको अभियोगमा थुन्न सक्नुभयो र कानुनको दायरामा ल्याउन सक्नुभयो भने सबैभन्दा पहिला स्यालुट गर्न म पुग्छु ।’



प्रतिक्रिया दिनुहोस्