Logo

माओवादी नेता बराइलीको दाबी ‘सरकारले भ्रष्टाचारीलाई बत्ति बालेर खोजी-खोजी ठेगान लगाएको छ’



काठमाडौं, १२ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य रणेन्द्र बराइलीले मुलुकमा विगतदेखि नै ठूला–ठूला भ्रष्टाचार भइरहेको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको पछिल्लो राजनीतिक अवस्थाबारे विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतदेखि मौलाइरहेको भ्रष्टाचारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नियन्त्रणको प्रयास गरिरहेको बताए । भ्रष्टाचारीहरुलाई वर्तमान सरकारले बत्ति बालेर खोजी–खोजी कारबाहीको दायरामा ल्याइरहेको उनको दाबी छ ।

‘विगत १९ महिनादेखि नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा सरकार छ । यो अवधिमा जति भ्रष्टाचारको फाइल खोलिएको र अमुक व्यक्तिहरुलाई पनि कारबाही गरिएको, चाहे भुटानी शरणार्थी प्रकरण होस्, बालुवाटार जग्गा प्रकरणदेखि मुख्यसचिवको प्रकरणसम्म आउँदाखेरी सरकारले भ्रष्टाचारीहरुलाई बत्ति बालेर खोजेर ठेगान लगाउने अभियान चलाएको छ भन्न सकिन्छ,’– उनले भने ।

भ्रष्टाचार मौलाउनुमा सामाजिक संरचना र निर्वाचन प्रणाली दोषी रहेको उनको धारणा छ । नेता बराइलीले एउटा सांसद जित्नका लागि अर्बौं खर्च गरेको पढ्न र देख्न पाइएको बताए । ‘निर्वाचित प्रतिनिधिहरुले करोडौं खर्च गरेर आफूलाई आफैंले किन्नुपर्ने हुन्छ । अर्थात् सांसदको पद किन्नुपर्ने हुन्छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली भइदियो भने राज्यले महँगा जनप्रतिनिधि किन्नुपर्ने हुन्थेन होला नि ?’ उनले प्रश्न गरे ।

उनले भ्रष्टाचार निवारणका लागि राज्यले विधि बनाएर अगाडि बढ्नुका साथै संरचनामा पनि सुधार गर्न आवश्यक रहेको बताए । देश कृषिमा आत्म निर्भर हुन सकेको खण्डमा र युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न सकेको खण्डमा केही हदसम्म समस्याको समाधान भएर जाने उनले विश्वास व्यक्त गरे ।

अहिलेको सरकारले यस्ता समस्यालाई गम्भीरतापूर्वक लिएर काम गरिरहेको उनको दाबी छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट कृषिजन्य उत्पादन बढाउने र युवाहरुलाई रोजगार प्रदान गर्ने दृष्टिकोणबाट पनि सफल रहेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्