Logo

अहिलेको अवस्थामा कसैले भ्रष्टाचार रोक्न सक्यो भने भगवानको दर्जा दिँदा हुन्छः आरपी महतो



काठमाडौं, १२ असार । भ्रष्टाचार विरोधी अभियन्ता आरपी महतोले वर्तमान अवस्थामा नेपालमा कसैले पनि भ्रष्टाचार रोक्न नसक्ने दाबी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको पछिल्लो राजनीतिक अवस्थाबारे विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेकै अवस्थामा भ्रष्टाचार रोक्न सक्ने कोही छ भने उसलाई भगवानको दर्जा दिँदा फरक नपर्ने बताए ।

उनले भन्सार कार्यालय र मालपोतमा सबैभन्दा बढी भ्रष्टाचार भइरहेको बताए । यी कार्यालयहरुमा कर्मचारी जाँदा कति कमाउने भनेर मिसन नै बनाएर जाने उनको दाबी छ । ‘अहिलेको अवस्थामा कोही माइकालालले भ्रष्टाचार रोक्न सक्दैन, कसैले सक्यो भने भगवानको दर्जा दिए हुन्छ । नेपालमा राजश्वअन्तर्गतको भन्सार कार्यालय र प्रशासनअन्तर्गतको मालपोत कार्यालयमा कर्मचारी जाँदा मैले कति कमाउने त्यहाँ गएर भन्ने पप्पर लिमिट सेट गरेर जान्छ । त्यो पूरा पनि गर्छ,’– उनले भने ।

पछिल्लो समय भ्रष्टाचार गर्ने स्वरुपमा परिवर्तन आइरहेको उनको भनाइ छ । उनले हिजोका दिनमा आफैंले हाकाहाकी भ्रष्टाचार गरिरहेको व्यक्तिले आज आफन्तहरुलाई प्रयोग गरेर भ्रष्टाचार गरिरहेको बताए । सेक्युरेटी प्रिन्टिङ प्रेसको भ्रष्टाचारमा सिंगापुरको बैंकमा खाता खोलेर भ्रष्टाचार भएको पाइएको उनको दाबी छ ।

‘भ्रष्टाचार गर्ने स्वरुपहरु परिवर्तन हुन्छ । हिजोका दिनमा आफैं भ्रष्टाचार गर्थे, त्यसपछि काका, मामा, ससुरालीबाट भ्रष्टाचार भइरहेको छ । सेक्युरेटी प्रिन्टिङ प्रेसको उद्धाहरण दिँदैगर्दा सिंगापुरमा बैंक खाता खोलेको भेटियो । स्वरुप परिवर्तन हुँदै गएको छ । भोलिका दिनमा विट क्याइनमा भ्रष्टाचार हुन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्