Logo

प्रदेश संरचना खारेजी र प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिन रास्वपा महामन्त्री ढकालको सुझाव



काठमाडौं, १३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई समीक्षा प्रतिवेदन बुझाएका छन् । महामन्त्री ढकालले समीक्षा प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरिदिन पनि पार्टी सभापति लामिछानेलाई आग्रह गरेका छन् ।

महामन्त्री ढकाल पार्टीको निर्णयअनुसार गत जेठ ६ गतेदेखि असार ५ गतेसम्म समीक्षा यात्रामा थिए । सो क्रममा उनले ३८ वटा जिल्लामा करिब ४ हजार २ सय १६ किलोमिटर सडक यात्रा र ८० किलोमिटर पैदल यात्रा पार गरेर समीक्षा यात्रा पूरा गरेका थिए ।

पार्टी सभापति लामिछानेलाई समीक्षा यात्राको प्रतिवेदन बुझाएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै महामन्त्री ढकालले करिब ३ हजार जनासँग प्रत्यक्ष संवाद गरी प्रतिवेदन तयार पारिएको बताए । उनले पार्टीको यथार्थ वस्तुस्थिति र अवस्था सारा जनताले थाहा पाउनुपर्छ भनेर प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरिदिन पार्र्टी सभापतिसमक्ष माग गरेको पनि बताए ।

सभापति लामिछानेले पार्टीभित्रका अन्य नेताहरुसँग पनि प्रतिवेदनका बारेमा छलफल गरेर सार्वजनिक गरिने प्रतिवद्धता व्यक्त गरेको उनले सुनाए । प्रतिवेदनमा सामान्य विषयहरु समन्वय, सम्पर्कदेखि पार्टीभित्रका आन्तरिक संकटबारे पनि उल्लेख रहेको महामन्त्री ढकालको भनाइ छ । सो क्रममा आफूले पार्टी महामन्त्रीको रुपमा सर्भे पनि गरेको उनले बताए ।

महामन्त्री ढकालले किन्तु परन्तु केही नभनी रास्वपाका नेताहरुले प्रदेश खारेजीको पक्षमा आवाज उठाउन आवश्यक रहेको कुरा प्रतिवेदनमा उल्लेख गरिएको बताए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा पार्टीका नेताहरु उभिन नसकेको पनि बताए । उक्त कुरालाई पनि रास्वाले जोडतोडका साथ उठाउन आवश्यक रहेको कुरा प्रतिवेदनमा उल्लेख गरिएको बताए ।

‘किन्तु परन्तु केही नलगाई प्रदेश खारेज गर्नुपर्छ भन्ने पक्षमा पार्टी उभिनुपर्छ । निर्वाचित कार्यकारी चाहिन्छ भन्ने कुरा हाम्रा नेताहरुले जोडतोडका साथ मुखरित गर्नुपर्ने, गर्न सकेनन् । जोडतोडले पार्टीका नेताहरुले त्यसलाई उठाउनुपर्छ,’– उनले भने । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot