Logo

इतिहास रच्दै दक्षिण अफ्रिका टी-२० विश्वकपको फाइनलमा प्रवेश



काठमाडौं,१३ असार । अफगानिस्तानविरुद्ध कीर्तिमानी जित हासिल गर्दै दक्षिण अफ्रिका पहिलोपटक आईसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ।

बिहीबार बिहान भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका तेस्रो प्रयासमा फाइनलमा पुग्न सफल भएको हो।

जारी विश्वकपमा कीर्तिमानी प्रदर्शन गरिरहेको दक्षिण अफ्रिका लगातार ८ खेल जित्ने एक्लो टोली हो।

यसअघि सन् २००९ र २०१४ मा सेमिफाइनल खेलेको दक्षिण अफ्रिका १० वर्षपछि अहिले सेमिफाइनलमा पुगेको थियो।

सुपर ८ मा समूह २ को विजेता बन्दै दक्षिण अफ्रिका तेस्रोपटक सेमिफाइनलमा पुगेको थियो। अफगानिस्तान भने समूह १ को उपविजेताका रूपमा अन्तिम चारमा पुगेको थियो।

अफगानिस्तानले दिएको ५७ रनको झिनो लक्ष्य अफगानिस्तानले ८।५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो।

दोस्रो विकेटका लागि रिजा हेनरिक र कप्तान एडेन मक्रमले ५५ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले खेल सहजै जितेको हो। रिजा २९ र मक्रम २३ रनमा नटआउट रहे।

ओपनर क्वीन्टन डी कक ५ रन बनाउँदा फजहक फारुकीको बलमा बोल्ड आउट भए। त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ११।५ ओभरमा ५६ रन बनाउँदा अलआउट भयो।

यो विश्वकपको सेमिफाइनल इतिहासमा अहिलेसम्मकै कम योगफल हो।  दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल शनिबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot