Logo

चीन सरकारले वार्षिक रुपमा दिने अनुदान नै कार्यान्वयन हुन सकेको छैन, बीआरआई ऋणमा स्वीकार गर्न हुँदैनः पूर्व अर्थमन्त्री महत



काठमाडौं, १३ असार । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले चिनियाँ परियोजना बीआरईको सहयोग नेपालको आवश्यकता र स्वार्थअनुरुप हुनुपर्ने बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बीआरआई परियोजनाअन्तर्गत चीनले अन्य देशमा गरेको लगानी उच्च व्याजदरको रहेको बताए । बीआरआईको लगानीबाट अन्य देशहरुले राम्रो प्रतिफलसमेत लिन नसकेको उनको दाबी छ । उनले अन्य देशका लागि अफाप सिद्ध बनिरहेको बीआरआई परियोजना नेपालमा दोहोर्याउन नहुने बताए ।

‘ऋण लिएर लगानी गरेपछि ऋणको साँवा, व्याज तिरेर पनि देशलाई फाइदा हुनुपर्यो । त्यो फाइदा हुने छैन भने त ऋण लिनुको अर्थ छैन । हामी अहिले चीनबाट अनुदान, सहयोग नै प्रयोग नभइरहेको अवस्थामा बीआरआईकै अवस्थामा आउने हो भने पनि त्यो अनुदान आउनुपर्यो भन्ने हाम्रो माग हो,’– उनले भने ।

पूर्व अर्थमन्त्रीसमेत रहेका महतले चीनले वार्षिक रुपमा दिने अनुदानसमेत नेपालमा कार्यान्वयन नभएको बताए । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउँदा घोषणा गरेको एक विलियन डलर सहयोग कार्यान्वयनमै ल्याउन नसकिएको उनले बताए । नेपालमा फाइदा नहुने गरी ऋणमा लिएर लगानी गर्न नहुने उनले बताए ।

‘म अर्थमन्त्री हुँदा पनि यी विषय उठेका थिए । हामीले स्पष्ट रुपमा के भनेका थियौं भने यसै पनि हाम्रो ऋणको आकार बढिरहेको छ । देशले धान्नै नसक्ने गरेर ऋणमात्रै थपिरहनुको औचित्य हुँदैन । एडीबी, वल्र्ड बैंकले पनि हामीलाई ऋण दिन्छन् । उनीहरुले दिने ऋण पनि हामीले सदुपयोमा ल्याउन सकेका छैन । उनीहरुको ऋण हामीले लामो समयमा तिरे हुन्छ । एकदम एक प्रतिशत भन्दा पनि तल व्याजदर हुन्छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट ठेक्का लाग्छ ।’ उनले भने, ‘अरु देशबाट हामीले अत्यावश्यक क्षेत्रमा, लिनैपर्ने ठाउँमा र त्यो सकेसम्म अनुदानमा । ऋण नै लिनुपर्ने कुनै क्षेत्र छ भने एडीबी, वल्र्ड बैंक जस्तो लामो अवधि र एक प्रतिशत भन्दा तल व्याजदर हुने त्यस्तो छ भने मात्रै विचार गर्न सकिन्छ । चीनबाट वार्षिक रुपमा दिने अनुदान नै धेरै वर्षदेखि प्रयोग भएको छैन । राष्ट्रपति सी जिनपीङ यहाँ आउँदा एक विलियन डलर बराबरको सहयोग गर्नुभयो । त्यो नै कार्यान्वयन भएको छैन । पहिला त हामी त्यो कार्यान्वयन गरौं ।’

कांग्रेसले बीआरआईको विरोध र समर्थन केही नगरेको उनले बताए । नेता महतले बीआरआईअन्तर्गत चीनले नेपाललाई केही दिने हो भने त्यो अनुदानमा आउनु पर्ने बताए । ऋणको कुरामा भने अत्यन्त विचार पुर्याउन आवश्यक रहेको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot