Logo

माधव नेपालले सर्वसम्मतिका लागि प्रयास गर्नुहुन्छ, त्यसो भएन भने निर्वाचन हुन्छः उपमहासचिव खतिवडा



काठमाडौं, १३ असार । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको १०औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । एकीकृत समाजवादीको १०औं महाधिवेशन आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुने छ । उपमहासचिव खतिवडाले महाधिवेशनमा सहभागी हुन अहिले विभिन्न जिल्लाबाट प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी रहेको बताए ।

उपमहासचिव खनालले महाधिवेशनमा सकभर सहमतिबाटै नेतृत्व चयन गरिने बताए । सहमति बन्न नसकेको खण्डमा निर्वाचनमा गएर नेतृत्व चयन हुने उनको भनाइ छ । उनले निर्वाचनलाई आन्तरिक लोकतन्त्रिक प्रतिस्पर्धाको रुपमा लिनुपर्ने बताए । सहमति वा निर्वाचनबाट माधवकुमार नेपालसहित अन्य जो कोही प्रतिस्पधी पार्टीको नेतृत्वमा पुग्न सक्ने उनले बताए । अहिले यो र त्यो भनी विवाद गरिरहन आवश्यक नरहेको उनको भनाइ छ ।

‘पार्टी सानो या ठूलो होस्, नेतृत्वका लागि प्रतिस्पर्धा सबैमा हुन्छ । नेपालको कुन राजनीतिक दलमा यस्तो प्रतिस्पर्धा छैन होला ? देशकै राजनीतिमा प्रतिस्पर्धा छ । यो आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धाको प्रयास हो ।’ उनले भने, ‘माधव कुमार नेपाल पनि प्रतिस्पर्धाबाट अध्यक्ष बन्न सक्नुहुन्छ । जुनसुकै राजनीतिक दलमा पनि सबैभन्दा पहिलो प्रयास सर्वसम्मती कै हुन्छ । सबैले त्यसै गर्छन् । सर्वसम्मति नहुने परिस्थिति निर्माण भएपछि निर्वाचनमा जानुपर्छ । माधव कुमार नेपाल सर्वसम्मतिका लागि प्रयास गर्नुहुन्छ । त्यो भएन भने निर्वाचनबाट प्रतिस्र्धा गर्नुहुन्छ ।’

उपमहासचिव खतिवडाले अब जनताको बहुदलीय जनवादबाट अगाडि बढेर समाजवादी क्रान्तिको कार्यक्रममा लाग्नुपर्ने बताए । उनले जबजले नेपालको कम्युनिष्ट आन्दोलनको विकास, परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको पनि उनले स्मरण गरे । आगामी चूनौतीहरु सामना गर्न अब जबज पर्याप्त नरहेको उनको भनाइ छ ।

‘जनताको बहुदलीय जनवादले नेपालमा कम्युनिष्ट आन्दोलनको विकासमा, नेपालको परिवर्तनमा, संघीय लोकतान्त्रिक गणतन्त्रको निर्माणमा असाध्यै महत्वपूर्ण भूमिका खेलेको थियो । अरु कार्यभार बाँकी नै छन् । अब हामीले नेपालको समाजवादी क्रान्तिको कार्यक्रमलाई अगाडि सारेका छौं । भोलिको चुनौतिहरुको सामना गर्न जबज पर्याप्त हुँदैन । अब विकसित स्वरुप आइसकेको छ, नेपालको समाजवादी क्रान्तिको कार्यक्रमको रुपमा आइसकेको छ,’– उनले भने ।

समाजवाद नेपालको संविधानले नै निर्दिष्ट गरेको बाटो रहेको दाबी गर्दै एकीकृत समाजवादी पार्टी समाजवादी क्रान्तिको अगुवा बन्ने दाबी गरे । उनले अब नेपालमा समाजवादलाई कसैले रोक्न नसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot