Logo

कांग्रेस सांसदको चेतावनी: चीनसँग बीआरआई ऋण सम्झौता भए नेपाल श्रीलङ्का,जाम्बिया,पाकिस्तानजस्तै बन्नसक्छ



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चीनसँग हुन लागेको बीआरआई सम्झौताप्रति आपत्ति जनाएको छ ।

बिहीबार बसेको संसद बैठकमा कांग्रेस सांसद शान्ति विकले बीआरआई अन्तर्गत ऋण सम्झौता नगर्न सरकारलाई आग्रह गरेकी छन् । बैठकको शून्य समयमा बोल्दै सांसद विकले नेपालको सार्वजनिक ऋण २४ सय अर्ब नाघिसकेको बताइन् ।

उनले भनिन्, ‘त्यसै पनि देश र जनता ऋणले थिचेर उठ्न नसक्ने अवस्थामा पुगेको अवस्था छ । अब बीआरआई परियोजनाले देशलाई उच्च ऋणको भार बोकाउँदा हाम्रो जस्तो देशमा ऋण व्यवस्थापन गर्न चुनौती आउन सक्छ ।’

उनले ऋण तिर्ने बलियो आधार नहुँदा र आर्थिक रूपमा सधैँ परनिर्भर हुनुले स्वतन्त्रता र राष्ट्रिय नीतिमै प्रभाव पार्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै बीआरआईबारे चीनसँग अनुदानस्वरुप उपलब्ध गराउन सरकारसँग आग्रह गरिन् ।

‘यदि ऋण सम्झौता गर्ने हो भने श्रीलङ्का, जाम्बिया, पाकिस्तानजस्तै तिर्न समस्या हुने र देशको अर्थतन्त्रमै नकारात्मक असर पर्ने उदाहरण छ त्यसैले बीआरआई ऋण सम्झौता नगर्न आग्रह गर्दछु’, सांसद विकको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्