Logo

सुरेन्द्र पाण्डेले जुनतारा रहेसम्म ‘म नै मुख्यमन्त्री हुँ’ भनिरहनु भएको छः खगराज अधिकारी



काठमाडौं, १३ असार । नेकपा (एमाले) का नेता एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले गण्डकीका वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जुन तारा रहेसम्मको मुख्यमन्त्री मैं हुँ भनिरहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु गण्डकी सरकार ढाल्ने पक्षमा नरहेको बताए । उनले गण्डकी सरकार आफैंभित्रको अन्तरविरोधले ढल्ने बताए ।

पूर्व मुख्यमन्त्रीसमेत रहेका अधिकारीले गण्डकीका सांसद फणीन्द्र देवकोटाको मुद्दामा भएको आदेश तर्फलक्षित गर्दै भने, ‘अदालतमा न्यायिक मन भएका न्यायाधीशहरु हुनुहुन्छ कि हुनुहुन्न ? तपाईँले बुझ्नुस्, उहाँहरुको पनि समर्थन छदैछ । उहाँलाई जुन तारा रहेसम्म नै म मुख्यमन्त्री हुन्छु भन्ने देख्छु म ।’

वर्तमान गण्डकी सरकारको जग नै नरहेको उनको भनाइ छ । गण्डकी सरकारले कांग्रेस, राप्रपा र जसपाको पार्टी कार्यालय बनाउन बजेट विनियोजन गरेको उनको आरोप छ । उनले उक्त कुरा जनताले थाहा पाएपछि यो सरकारप्रति आक्रोश बढ्दै जाने बताए ।

‘यो जग नभएको सरकार आफैं ढल्छ, आफैं भित्रको अन्तरविरोधले, उहाँले नेपाली कांग्रेसको पार्टी कार्यालय बनाउन, राप्रपालाई, जनता समाजवादी पार्टीलाई पैसा बाँडेर बजेट ल्याउनु भएको छ । जनताले थाहा पाएपछि जनताले आफैं यसप्रति आक्रोश व्यक्त गर्छन् । मैले किन ढाल्न लाग्नु ? आफैं ढल्छ नि,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot