Logo

राजदूत फिर्ताबारे कांग्रेसको आक्रोश कायमै, बीआरआईमा राष्ट्रिय सहमति हुनुपर्छ: सांसद साउद



काठमाडौं,१३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न ११ देशबाट राजदूत फिर्ता बोलाउने सरकारको निर्णयको विरोध गरेको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद एनपी साउदले कच्चा कूटनीतिक खेल खेलेर राजदूत फिर्ता बोलाईनुले सरकारको परराष्ट्र नीतिबारे प्रश्न उठेको बताए । गत महिना सरकारले नेपाली कांग्रेसका कोटाबाट राजदूत नियुक्त भएका ११ जनालाई फिर्ता बोलाएको थियो । सोहीबारेमा कांग्रेसले प्रश्न उठाएको हो ।

“नेपालले आफ्नो कुटनीति र भरिपूर्ण बनाउने यही बेला ११ राष्ट्रबाट ११ जना राजदुत फिर्ता बोलाएका छौँ । प्रशासन र कर्मचारीहरूबाट जाने र विभिन्न पेसाबाट जाने राजदूतलाई के कारणले फिर्ता बोलाइयो जानकारी नदिई फिर्ता बोलाइयो । यसले कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको छ,” उनले भने ।

सांसद साउदले राजदूत नियुक्तिका लागि गरिएको दलीय भागबन्डामा पनि प्रश्न उठाएका छन् । उनले रास्वपाको कोटामा परेका २ जना राजदूतका लागि गरिएको आवेदनप्रति कटाक्ष गरेका छन् । ‘राजदूत छान्न एनजीओले जस्तै विज्ञापन गर्नु नेपालको कूटनीतिलाई धुमल्याउने काम हो’ उनले भने । रास्वपाले आफ्नो भागमा परेको २ जना राजदूतका लागि आवेदन माग गरेको छ ।

त्यस्तै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका साउदले चीन सरकारसँग गर्न लागिएको बीआरआई सम्झौताप्रति पनि आपत्ति जनाएका छन् । उनले बीआरआईलाई ऋणमा स्वीकार गर्न नहुने बताए ।

“प्रमज्यूले भन्नुभएको छ, एडीबी, वल्र्ड बैंककै ब्याजदरमा लोन लिन्छौँ भन्नुभएको छ । त्यो बाटोमा अघि बढेको छ कि छैन । त्यसकारण हाउसलाई विश्वासमा लिनुपर्ने आवश्यक्ता हामीले देखेका छौँ,” उनले भने, “राष्ट्रिय सहमति भएर अघि बढ्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot