Logo

नेपाली नागरिकलाई विनाधितो २० लाख ऋण दिनुपर्ने राष्ट्रिय युवा शक्ति नेपालको माग



काठमाडौं, १३ असार । राष्ट्रिय युवा शक्ति नेपालले बैकिङ्ग व्याजदर अधिकतम १० प्रतिशत कायम गराउनुपर्ने बताएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय युवा शक्ति नेपालले यस्तो माग अगाडि सारेको हो ।

वित्तीय तथा बैकिङ्ग कर्जामा रहेका धितोलाई पुनरमुल्याङ्कलन गरी ऋणीलाई न्यूनतम २ वर्षसम्म कालो सूचि तथा लिलामीमा नलैजाने र लिलामीमा लानै पर्ने भएमा लिलामी प्रकृयाबाट पिडितलाई न्यायका लागि पुनः व्यवहारीक मुल्याङ्कन गरी कर्जा चुक्ता गरी बाँकी रकम पीडितलाई दिलाइनुसमेत राष्ट्रिय युवा शक्ति नेपालको माग छ ।

राष्ट्रिय युवा शक्ति नेपालका संयोजक सविन मल्लले जनताले निर्वाचित गरेर पठाएको जनप्रतिनिधिहरु सदनमा सहकारी ठग र बाख्रो चोर भनेर आरोप–प्रत्यारोप मै मस्त रहेको बताए । सदनमा जनताका जनजीविकाको सवालहरु नउठेको उनको भनाइ छ । तीन नेताहरुले देश ध्वस्त पारेको उनले बताए । उनले विदेश जाने युवाहरुलाई नेपालमा रोकेर रोजगारी र उत्पादन बढाउन आवश्यक रहेको बताए ।

उनले अब सरकारले नागरिकताको आधारमा विनाधितो २० लाखसम्म ऋण दिनुपर्ने बताए । उनले राष्ट्रिय युवा शक्ति नेपालको अभियान दुई वर्ष पुगेको बताए ।

राष्ट्रिय युवा शक्ति नेपालका प्रवक्ता वसन्त चन्दले राजनीतिक दलहरुले नेपालीलाई मिलाएर लान नसकेको बताए । प्रवक्ता चन्दले पुराना राजनीतिक दलको अकर्मण्यताको विरुघद्धमा राष्ट्रिय युवा शक्ति नेपालको उदय भएको बताए ।

राष्ट्रिय युवा शक्ति नेपालका सह–संयोजक हरेन्द्र शाहीले देश शतप्रतिशत गलत बाटोमा गइरहेको बताए । उनले राष्ट्रिय युवा शक्तिमार्फत अब युवाहरु जुरमुराउन आवश्यक रहेको बताए । अहिले जनताहरुले अनिवार्य आवश्यकतासमेत परिपूर्ति गर्न नसकिरहेको उनले बताए ।

कायक्रममा राष्ट्रिय युवा शक्ति नेपालका प्रमुख सल्लाहकार नविनचन्द्र श्रेष्ठ, मानव अधिकारकर्मी नवराज भण्डारीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot