Logo

नेपालीहरुले प्रतिव्यक्ति ८२ हजार ऋणको भारी बोकिरहेका छन्, अब बीआरआई थप्न हुँदैनः सांसद बजगाईँ



काठमाडौं, १३ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले चिनियाँ परियोजना बीआरआई ऋणमा लिन नहुने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिले नेपालीहरुले प्रतिव्यक्ति ८२ हजार ऋणको भारी बोकिरहेको बताउँदै उनले अब ऋण थप्न नहुने धारणा राखेका हुन् ।

‘चीनसँग ऋण नै लिन हुँदैन भन्नेतिर हामीले इङ्कित गरिरहेका छैनौं । तर, चर्को व्याजदर हामी बोक्न सक्दैनौं । अहिले नेपालीहरुले प्रतिव्यक्ति ८२ हजार रुपैयाँको भारी बोकेका छन् । त्यो ऋणमा हामीले पोखरा विमानस्थलको ऋण थपेर बोक्नुपर्ने छ । यसकारणले गर्दा चीनसँग ऋण लिनै हुँदैन भन्ने भन्दा पनि यो ऋण थपिएर हामी फेरि कहीँ पुग्न सक्दैनौं,’– उनले भने ।

नेता बजगाईँले जहिले पनि कांग्रेस प्रतिपक्षमा रहेको बेला बीआरआईलाई आक्रमक रुपमा प्रस्तुत गर्ने काम भइरहेको बताए । उनले बीआरआईको कार्यक्रममा पाँच वटा घोषित उद्देश्यहरु रहेको उल्लेख गर्दै नीतिगत समन्वयमा क्षेत्राधिकारका लागि नीतिहरु समान हुने कुरा स्वीकार गर्न नसकिने बताए । उनले दुई मुलकबीचको नीति कहिले पनि समान हुन नसक्ने बताए । यस विषयमा उनले सरकारसँग जवाफसमेत माग गरेका छन् ।

‘नीतिगत समन्वयमा क्षेत्राधिकारका लागि नीतिहरु समान छन् भनेको छ । दुईवटा मुलुकको नीति समान हुन सक्दैन । हामी भारतसँग पनि यसमा विमत्ति राख्छौं । हामीलाई बीआरआई फण्डिङको मोडालिटीको बारेमा सरकारसँग सोध्नुछ । नेपाल एक सार्वभौम राष्ट्र हो । हामीले कमन वेल्थ मुलुकहरुमा पनि पोलिसी हार्मोनाइजेसन र त्यसको प्राक्टिस देखेका छैनौं । देश मौलिक छन्, पृथक छन् । त्यसकारणले गर्दा सरकारले संसद्मा स्पष्ट जवाफ दिनुपर्यो,’– उनले भने ।

चीनलाई जननेता विश्वेश्वर प्रसाद कोइरालाले संसारमा चिनाउने काम गरेको दाबी गर्दै उनले नेपाली कांग्रेसलाई चीनले नजर अन्दाज गर्न नहुने बताए । साथै, उनले सन् २०१७ मा चीन र नेपाल सरकारबीच बीआरआईको सम्बन्धमा भएको एमओयू संसद्मा पेश गर्नुपर्ने बताए । उक्त डकुमेन्ट सबै सांसदहरुले अध्ययन गर्न पाउने अधिकार रहेको भन्दै उनले एमसीसीजस्तै बीआरआई पनि संसद्मा छलफल हुनुपर्ने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot