Logo

महाधिवेशन एकीकृत समाजवादीको, चिन्ता एमाले नेताहरुलाई



  • कमल बुढाथोकी

काठमाडौं,१३ असार । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन आउन जम्माजम्मी २ दिनमात्र बाँकी छ । एकीकृत समाजवादीले असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा १०औं राष्ट्रिय महाधिवेशनको आयोजना गरेको छ । महाधिवेशनको सबै तयारी पूरा भईसकेको र निर्धारित समयमै महाधिवेशन हुने एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् ।

आइतबारबाट सुरु हुने महाधिवेशनका लागि देशभरबाट करिब एक हजार आठ सय महाधिवेशन प्रतिनिधि छनोट भईसकेका छन् । महाधिवेशनले १९ पदाधिकारीसहित एक सय ९९ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्नेछ ।

महाधिवेशन सुरु हुन जम्मा २ दिनमात्र बाँकी रहँदा नेताहरुबीच नेतृत्वका लागि रस्साकस्सी सुरु भईसकेको छ । एकीकृत समाजवादीको अध्यक्षका लागि हालका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल मैदानमा उत्रिने देखिएको छ । यसअघि सम्मानीत नेता झलनाथ खनालले पनि अध्यक्षमा दाबी गर्दै आएका थिए । तर, बुधबार खनाल र भुसालबीच मिलेर अघि बढ्ने समझदारी जुटेको हो । यद्यपि खनालको सचिवालयले मिलेर जाने सहमतिमात्र भएको तर, अध्यक्षमा समर्थन गरिनसकेको बताएको छ ।

माधवले अध्यक्षमा पुनः दोहोरिने चाहना राखिरहँदा खनालले भुसालसँग कार्यादेश मिलेको भन्दै उनलाई समर्थन गरेमा भुसाल र नेपालबीच प्रतिस्पर्धा हुने निश्चितजस्तै देखिन्छ । वैचारिक रुपान्तरण र पुस्तान्तरणको नारा दिएर खनाल–भुसाल अघि बढिरहेको र नेपालले पनि आफ्नै तवरले तयारी गरिरहँदा सत्ता साझेदार दल खासगरि नेकपा (एमाले)ले विशेष चासोका साथ हेरेको छ ।

महाधिवेशन एकीकृत समाजवादीको, चासो एमालेलाई किन ?

हाल एकीकृत समाजवादीमा रहेको सिंगो पार्टीपंक्ति हिजोको एमालेको एउटा पक्ष हो । तत्कालीन अवस्थामा नेकपाको खारेजी र चलिरहेको अन्तरद्वन्द्वका कारण ०७८ सालको भाद्रमा माधव नेपालसहितले एमाले विभाजन गरेर नयाँ दल स्थापना गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दुईवटै संसद् विघटनलाई सर्वोच्च अदालतले वदर गरेपछि विकसित भएको राजनीतिक परिस्थितिको चेपुवामा परेका नेपालसहितका २६ जना सांसदले विद्रोह गरेर नयाँ दल स्थापना गरेका थिए ।

एमालेबाट विद्रोह गरेर नयाँ दल स्थापना गरेपनि एकीकृत समाजवादीले सबै स्वरुप एमालेकै जस्तो छ । नीति, विधि र पद्धती एमालेले अंगिकार गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई स्कीकार गरेको छ । यसो हुँदा पनि यस महाधिवेशनमा एमालेले चासोकासाथ हेरेको अनुमान गर्न सकिन्छ । एमालेको स्वरुपकै रुपमा आफूहरुको निरन्तरता भन्दै आएको एकीकृत समाजवादीले त्यहि भएरनै एकैपटक १०औं महाधिवेशन गर्न लागेको हो ।

एमालेसँग सबै प्रकारका नीति र सिद्धान्त मिल्ने हुँदा र निकट भविष्यमा नै यी दुई पार्टी एक ठाउँमा आउने अवस्था बन्नसक्ने आकलन गरिएको हुँदा यस महाधिवेशनलाई एमालेले चासो दिएको छ । एमालेको नेतृत्व तहदेखि ग्रासरुटका नेता कार्यकर्ताले पनि चासोका साथ हेरेका छन् ।

एमाले कसलाई चाहन्छ नेतृत्वमा ?

केही दिनअघिसम्म नेता नेपाल र खनालले अध्यक्षमा भिड्ने तयारी गरिरहँदा एमाले नेतृत्वले एकीकृत समाजवादीको नेतृत्वमा सम्मानीत नेता खनाललाई हेर्न चाहेको चर्चा हुने गरेको थियो । किनकी नेपालभन्दा खनाल एमालेसँग नरम छन् । उनले कुनै दिन एमाले र आफ्नो दल एक हुने दाबी गर्दै पनि आएका छन् । तर, बुधबार एकाएक खनालले भुसाललाई अघि सार्ने संकेत गरेपछि एमाले पंक्ति झस्किएको छ ।

बुधबारको भुसाल–खनालको गठजोडपछि एमाले अध्यक्ष ओलीले माधवप्रति सहानुभूति देखाएको बालकोट स्रोतको दाबी छ । पार्टी विभाजनपछि नेपालसँग खासै सुमधुर सम्बन्ध नभएपनि उनैले नेतृत्व गरुन् भन्ने ओलीको चाहना रहेको स्रोतको दाबी छ ।

नेपालप्रति ओलीको सहानुभूति किन ?

त्यसो त तत्कालीन एमालेको सातौं राष्ट्रिय महाधिवेशनसम्म ओली र नेपाल एउटै गुटमा थिए । तर, समयक्रमसँग उनीहरु एकअर्काका प्रतिस्पर्धी बन्न पुगे भने गुट पनि फरक–फरक बन्यो । खासगरि काठमाडौंमा ०७१ सालमा एमालेको एमालेको ९औं राष्ट्रिय महाधिवेशनमा नेपाल र ओलीबीच अध्यक्षमा प्रतिस्पर्धा भयो । खनालले सो महाधिवेशनमा नेपाललाई साथ दिए । भने हाल राष्ट्रिय एकता अभियान चलाईरहेका वामदेव गौतमले ओलीलाई साथ दिए । तत्कालीन नेतृ (पछि राष्ट्रपति) विद्यादेवी भण्डारीसहितलाई मिलाएर ओलीले शक्तिाली गुट खडा गरेपछि नेपालले अध्यक्ष हारेका थिए ।

९औं महाधिवेशनमा पराजित भएका नेपालले पनि आफ्नै गुट बनाएका थिए । यसी दुई नेताबीच राजनीतिक प्रतिस्पर्धा र तिक्तता सुरु भएको नेताहरु बताउँछन् । तर, यसपटकको महाधिवेशनमा ओलीले नेपालप्रति सुभेच्छा राख्नुको कारण भनेको एकीकृत समाजवादीको नीति रहेको नेताहरु बताउँछन् । हाल एकीकृत समाजवादीले अवलम्बन गर्दै आएको जबज र एमालेले अंगिकार गरेको जबज एकै हो । एमालेका तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जबजमा जति ओली अडिग छन्, त्यतिनै नेपाल पनि अडिग छन् । त्यसैले पनि ओलीले नेपाल नै अध्यक्ष होउन् भन्ने चाहिरहेका छन् ।

भुसालप्रति ओली रुष्ट

एमाले नेतृत्वले भुसाल अहिले नै एकीकृत समाजवादीको नेतृत्वमा पुगेको हेर्न नचाहनुको एउटा कारण जबज पनि हो । नेपाल र ओलीको ठीक विपरित भुसाल र खनाल जबजका विरोधी हुन् । जबजको औचित्य सकिएको दाबी गर्दै उनीहरुले नौलो समाजवादमा जानुपर्ने मत राख्दै आएका छन् । खनालले त वर्षौ अघिनै जबजलाई दक्षप्रजापतिको बोकाको टाउकोसँग तुलना गर्ने गरेको थिए । यसपटक नेतृत्वमा भुसाल आएमा जबज समाजवादीबाट मासिने खतरा बढेको छ । यसकारण पनि ओलीसहितका नेताहरुले भुसाललाई नरुचाएको देखिन्छ ।

अर्कोतिर एमाले विभाजन हुँदा १०बुँदे सम्झौता गरेर एमालेमै बसेका भुसाल एमालेले आम निर्वाचनमा टिकट नदिएपछि तत्कालीन सत्ता गठबन्धनको सहयोगमा स्वतन्त्र चुनाव लडेका थिए । चुनाव हारेपछि भुसाल नेकपा एसमा प्रवेश गरेर महासचिव नै बनेका थिए । एमालेले चुनावमा टिकट नदिएपछि ओलीसहितका नेतालाई तथानाम गाली गरेर उनले पार्टी परित्याग गरेका थिए । सोही कारणले पनि एमालेले उनलाई रुचाएको छैन् ।

एमालेका युवा नेता कता ?

एमालेको शीर्ष नेततृ्व र खासगरि १० बुँदे भनिएकाहरुले खनाल र नेपाललाई नै नेतृत्वमा देख्न चाहेको बेला एमालेभित्रकै युवा नेताहरू भने भुसाल अध्यक्ष बनेको हेर्न चाहन्छन् । एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य ठाकुर गैरे, उषाकिरण तिम्सिना, झपट रावलगायतले घनश्यामलाई अध्यक्ष बनाउन अभियान नै चलाएको स्रोतको दाबी छ । त्यसको पुष्टि आजमात्र एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले गरेकी छन् । उनले आज एमाले नेताहरुसँग बसेर खिचाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै आफू महासचिवमा उठ्ने तयारी गरेको छनक दिएकी छन् । झाक्री पनि सम्मानीत नेता खनाल पक्षकी नेतृ हुन् । भुसाललाई अध्यक्ष र झाँकीलाई महासचिव बनाउनेगरि सो समूह अघि बढेको बताइन्छ ।

एमालेका युवा नेताको भुसाललाई समर्थ किन ?

भुसाललाई अध्यक्ष बनाउन अभियान चलाएका भनिएका एमालेका युवा नेताहरु तत्कालीन सिंगो एमालेमा पनि भुसाल निकटका नेताहरु हुन् । भने भुसालले पुस्तान्तरणको नारा लिएर महाधिवेशनमा जाँदा सो को प्रभाव एमालेमा पनि उनीहरुको बुझाए छ । भने अर्कोरित एमाले छाड्दा जतिसुकै टिप्पणी गरेपनि एकदिन दुईपार्टी एक हुनेमा भुसाल विश्वस्त छन् । त्यसैले पनि एमालेका युवा नेताले भुसाललाइ साथ दिएको अनुमान गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot