Logo

चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ



काठमाडौँ, १३ असार । नेपाल प्रहरीले चिनियाँ नागरिकसँग बिहे गराइदिने प्रलोभनमा पारेर चीन लगेर एक महिलालाई बन्धक बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले चीनमा महिला बिक्री गरेको आरोपमा उदयपुर त्रियुगा नगरपालिका–१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले गत फागुनमा पीडित महिलालाई चिनियाँ नागरिकले बिहे गरेर भिजिट भिसामा चीन लगेर बन्धक बनाएको खुल्न आएको जानकारी दिए ।

“पक्राउ राईले फेसबुक म्यासेन्जरबाट पीडित महिलालाई कुराकानी गरी चिनियाँसग भेट्न ठमेल बोलाएर बिहे गर्न लगाएको अनुसन्धानका क्रममा पत्ता लागेको छ”, मिश्रले भने । पीडित महिलालाई चिनियाँ नागरिकले एक लाख ५० हजारमा बिक्री गरेको खुलेको प्रहरीले बताएको छ ।

चिनियाँले पीडित महिलालाई घरमै बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिई यौन शोषण गरेको खुलेको मिश्रले बताए । पीडित महिलालाई चीनस्थित नेपाली राजदूतावासले यही असार ९ गते उद्धार गरी नेपाल ल्याउने वातावरण मिलाएको थियो ।

पीडित महिला नेपाल आएर निवेदन दिएपछि प्रहरीले राईलाई पक्राउ गरेको हो । घटनामा सङ्लग्न चिनियाँ नागरिक र अन्य व्यक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक मिश्रले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot