Logo

झलनाथ र घनश्यामसँग कड्किँदै माधवले सोधे: हिजो त गज्जबको फोटोसेसन चलेछ हैन ?



काठमाडौं,१४ असार । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन आउन जम्माजम्मी १ दिनमात्र बाँकी छ ।

एकीकृत समाजवादीले असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा १०औं राष्ट्रिय महाधिवेशनको आयोजना गरेको छ । महाधिवेशनको सबै तयारी पूरा भईसकेको र निर्धारित समयमै महाधिवेशन हुने एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् ।

आइतबारबाट सुरु हुने महाधिवेशनका लागि देशभरबाट करिब एक हजार आठ सय महाधिवेशन प्रतिनिधि छनोट भईसकेका छन् । महाधिवेशनले २१ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्नेछ । यसअघि १९९ केन्द्रीय कमिटी रहने भनिएकोमा बिहीबार बसेको सचिवालय बैठकले २९९ जनाको कमिटी बनाउने, सम्मानीत नेताको पद कायमै राख्ने र वरिष्ठ उपाध्यक्ष थप गर्ने निर्णय गरेको थियो ।

महाधिवेशन सुरु हुन जम्मा १ दिनमात्र बाँकी रहँदा नेताहरुबीच नेतृत्वका लागि रस्साकस्सी सुरु भईसकेको छ । एकीकृत समाजवादीको अध्यक्षका लागि हालका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल मैदानमा उत्रिने देखिएको छ । यसअघि सम्मानीत नेता झलनाथ खनालले पनि अध्यक्षमा दाबी गर्दै आएका थिए । तर, बुधबार खनाल र भुसालबीच मिलेर अघि बढ्ने समझदारी जुटेको हो । यद्यपि खनालको सचिवालयले मिलेर जाने सहमतिमात्र भएको तर, अध्यक्षमा समर्थन गरिनसकेको बताएको छ ।

माधवले अध्यक्षमा पुनः दोहोरिने चाहना राखिरहँदा खनालले भुसालसँग कार्यादेश मिलेको भन्दै उनलाई समर्थन गरेमा भुसाल र नेपालबीच प्रतिस्पर्धा हुने निश्चितजस्तै देखिन्छ । वैचारिक रुपान्तरण र पुस्तान्तरणको नारा दिएर खनाल–भुसाल अघि बढिरहेका हुन् ।

खनाल र भुसाल मिलेर आफूलाई पाखा लगाउने खोजिएको भन्दै हालका अध्यक्ष नेपाल रुष्ट बनेका छन् । बुधबार खनाल निवास डल्लूमा भुसालसँग खनाल मिलेको तस्बिर सावर्जजनिक भएपछि नेपालले सचिवालय बैठकमै असन्तुष्टि जर्नाका छन् । उनले बुधबार आफूलाई कुनै पनि जानकारी नदिई २ नेताबीच गठजोड बनेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

बैठकमा सहभागी एसका एक नेताले दिएको जानकारी अनुसार बैठकमा नेताहरुबीच निक्कै घोचपेच चलेको थियो । नेपालले खनाल र भुसाललाई लक्षित गर्दै फोटोसेसन राम्रो चलेछ नि हैन ? भन्दै प्रश्न गरेका थिए । ‘हिजो त कमरेडहरूबीच फोटोसेसन गजबले भएछ , छलफलमा एकले अर्को मिलेर जाने भन्ने निर्णय भएछ । मलाई बोलाएको भए म पनि आउथे, छलफल हुन्थ्यो । म पनि मिलेर जान्थे’ बैठकमा कडकिँदै नेपालले भनेका थिए ।

खनाल निवास डल्लुमा बुधबार खनाल र भुसालबीच भएको बैठकमा घनश्याम भुसाललाई अगाडि बढाउन खनाल सहमत भएका बताइएको छ । उक्त छलफलमा नेताहरू प्रकाश ज्वाला, जीवनराम श्रेष्ठ, नरेश शाही र सन्दीप राई सहभागी थिए । पहिलो चरणमा उनीहरूबीच सामूहिक छलफल भएको थियो । उक्त छलफलमा खनालले अगाडि सारेको समाजवादी कार्यक्रमलाई भुसालले साथ दिने र नेतृत्वमा भुसाललाई खनालले साथ दिने सहमति भएको छ ।

बुधबार खनाल निवासमा भएको भनिएको छलफलबाट तर्सिएका नेपालले बिहीबार भुसालकै लागि भनेर वरिष्ठ उापध्यक्ष पद सिर्जना गर्ने र आवश्यक्ता अनुसार पदाधिकारी थप गर्ने निर्णय गराएका छन् । बिहीबारको निर्णयअनुसार भएमा भुसाल महासचिवबाट बढुवा भएर वरिष्ठ उपाध्यक्ष बन्नेछन् भने नेपाल अध्यक्षमा दोहोरिनेछन् । हालका उपमहासचिव जगन्नाथ खतिवडालाई माहासचिव बनाउने नेपालको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot