Logo

बालेनको इमादारिता, देश प्रेम र परिवर्तन साँचो होः रास्वपा नेतृ कार्की (भिडिओसहित)



काठमाडौं, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा.चन्दा कार्कीले पार्टी महामन्त्री डा. मुकुल ढकालले इमानदारितापूर्वक समीक्षा प्रतिवेदन ल्याएको बताएकी छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले समीक्षा यात्राको उद्देश्यअनुसार रास्वपा महामन्त्रीले प्रतिवेदन पेश गरेको बताएकी हुन् । उनले पार्टीभित्र कुनै द्वन्द्व नरहेको उनले बताईन् । महामन्त्रीको प्रतिवेदनमाथि छलफल गरेर पारित गरिने पनि उनले बताईन् ।

‘डा. मुकुल ढकाल हाम्रो पार्टीको महामन्त्री हो । डा. मुकुल ढकालले सुरुदेखि नै एकदमै मेहनत गरेर पार्टीलाई बनाउने रवि लामिछाने संगसँगै डा. मुकुल ढकाल पनि हो । उहाँलाई पार्टीले नै समीक्षा यात्रामा देशको अवस्था बुझ्नलाई पठाएको हो । उहाँले जे देखेर आउनु भयो, उहाँले ओपन्ली भन्नुभयो,’– उनले भनिन् ।

नेपाली कांग्रेस र एमालेको पनि आफ्नै इतिहास रहेको बताउँदै उनले उनीहरुको सधैं आलोचना गरिबस्नु उचित नहुने बताईन् । उनले कांग्रेस–कम्युनिष्टहरुले नै गणतन्त्र ल्याइदिएर आफूहरु सांसद हु्न पाएको कुरा पनि भुल्न नहुने बताईन् । व्यवस्था परिवर्तनमा कांग्रेस–कम्युनिष्टहरुको ठूलो योगदान रहेपनि जनताको भावनालाई संस्थागत गर्न नसकेको उनको बुझाइ छ ।

दलको स्पष्ट बहुमत नभएको अवस्थामा गठबन्धनको सरकार बनाउने व्यवस्था संविधानले नै गरेको भन्दै उनले अहिले सरकारबाट बाहिरिएर राजनीतिक अस्थिरता मच्चाउन नहुने बताईन् । इमानदारितापूर्वक जनताको सेवा र डेलिभरीमा लाग्नुपर्ने उनको भनाइ छ ।

उनले बालेनको काम आफूलाई पनि मन परेको बताईन् । संविधानले स्थानीय सरकारलाई सशक्त बनाएको उनको दाबी छ । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेनको इमानदारिता प्रदर्शन गरेको बताईन् । साथै, बालेनको देश प्रेम र परिवर्तन ल्याएको उनले स्वीकार गरिन् ।

‘उहाँको काम जनताले मन पराएका छन्, मलाई पनि मन पर्छ । उहाँको जिम्मेवारी र एउटा सांसदको जिम्मेवारी फरक हो । उहाँ त मेयर हो नि त । बालेन शाह मेयर हो, गोपी हमालजी मेयर हो ।’ उनले भनिन्, ‘उहाँहरुको स्वतन्त्रता छ, उहाँले एक्लै डिसिजन गर्न सक्नुहुन्छ । स्थानीय सरकारलाई अहिलेको संविधानले एकदमै सशक्त बनाएको छ । उहाँको इमानदारिता, देश प्रेम र उहाँले परिवर्तन ल्याएको कुरा चाहीँ साँचो हो । तर, कुनै राजनीतिक दल गएर मेयरसँग मिल्न सक्दैन । मिल्नलाई पनि त तह मिल्नुपर्यो नि त ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot