Logo

एसईई रिजल्टले विद्यालय, शिक्षक र अभिभावकलाई झक्झक्याएको छ, अब सुध्रिनुपर्छः पूर्वमन्त्री श्रेष्ठ



काठमाडौं, १४ असार । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री उमेश श्रेष्ठले शिक्षाको गुणस्तर सुधारका लागि राजनीतिक दलहरु एक ठाउँमा उभिन आवश्यक रहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा भर्खरै प्रकाशित एसईईको नतिजाबारे बोल्दै उनले शिक्षाको समुल परिवर्तनका लागि सबै नेताहरु एक ठाउँमा उभिन पर्ने बताए ।

‘शिक्षा फेल हुनुभनेको देश फेल हुनु हो । अरु देशहरुलाई शिक्षालाई पहिलो प्राथमिकता दिन्छ । सबैभन्दा पहिला नेताहरुले एक ठाउँमा बसेर शिक्षालाई यसरी लैजाउँ भनेर नीतिगत सोच बनाउनुपर्छ,’– उनले भने ।

एसईईमा विद्यार्थी फेल हुनुमा पाठ्यक्रमदेखि लिएर शिक्षण सिकाइ पद्धति दोषी रहेको उनको भनाइ छ । उनले पाठ्यक्रममा पूर्ण रुपमा परिवर्तनको आवश्यक रहेको बताए ।

शिक्षामा आमुल परिवर्तन हुन जरुरी रहेको उनको भनाइ छ । आफूले शिक्षामा परिवर्तन गरौं भनेर बोल्दा प्राइभेटलाई फाइदा हुने कुरामात्रै हेर्छ भन्ने आरोप लाइएको बताए । समय सापेक्ष अरु मुलुकलाई हेरेर शिक्षामा अगाडि बढनुपर्ने बताए । अहिले एसईईको रिजल्टले शिक्षाको वास्तविक स्थिति देखिएको बताए ।

विद्यालय, शिक्षक र अभिभावकहरुलाई एसईई रिजल्टले झक्झक्याएको बताए । उनले विद्यालयभित्र पूर्व रुपमा राजनीति बन्द गर्नुपर्ने बताए । अब कसैले कसैलाई दोष नदिएर पाठ्यक्रम र परीक्षा प्रणालीमा सुधार गरेर जान जरुरी रहेको बताए । शिक्षामा वर्षेनी दुई खर्बभन्दा बढी बजेट छुट्याइएपनि रिजल्टमा सुधार नआएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot