Logo

टेरामक्सबारे जवाफ दिन उचित दिनको पर्खाइमा मोहन बस्नेत



काठमाडौं, १४ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य मोहनबहादुर बस्नेतले टेरामक्स प्रकरणबारे उचित दिनमा जवाफ दिने बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले टेरामक्सलाई लिएर संसद्मा आफूविरुद्ध कुराहरु आइरहेको भन्दै यस्तो बताएका हुन् । नेता बस्नेतले टेरामक्स वार्षिक अर्बौं राजश्व बचाउने एकमात्र मन्त्र रहेको बताए । उनले टेरामक्स प्रणाली लागू नभएसम्म कल बाइपास गरेर कालोबजारी भइरहने बताए ।

‘मलाई पनि यो टेरामक्सको कुरा लिएर बेला–बेलामा, यसका बारेमा तीन जना सांसदहरुको नाम मुछिएको छ । एकदम कलिला–कलिला ओठ निर्चोदा दुध आउने माननियदेखि लिएर दाह्रीजुँगा फुलेकासम्म सबैले यो कुरा उठाइरहनुभएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिनेछु,’– उनले भने ।

उनले संसारभरी टेलिफोनमा कल बाइपास टेरामक्स विधिले नै नियन्त्रण भइरहेको दाबी गरे । टेरामक्स प्रकरणमा ठगीको धन्दा नभएको उनको भनाइ छ । नेता बस्नेतले नेपालमा कल बाइपास गरेर वर्षको २५ अर्बभन्दा बढी राजश्व घोटला भइरहेको बताए ।

‘मैले आँट गरेर यो विधि सुरुवात गर्न खोजेको हुँ । २५ अर्ब वार्षिक घटला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायहरुलाई ड्राइभर्ट गर्न खोजेको हो ? भविष्यले बताउला,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot