Logo

मधेसका मुख्यमन्त्री सिंहले विश्वासको मत लिने मिति तय, यस्तो छ प्रदेश सभाको गणित..



काठमाडौं, १४ असार । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सिंहले यही २१ गते विश्वासको मत लिने तय भएको हो ।

संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री सिंहले २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने छ । तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट बहुमत प्राप्त नगरेपछि जनमत पार्टीका सिंह बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिईन् ।

मुख्यमन्त्री सिंहलाई एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल सङ्घीय समाजवादी पार्टीका गरी ५५ जना प्रदेशसभा सदस्यले समर्थन गरेका थिए ।

कूल १०७ सदस्यीय मधेश प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । मधेश प्रदेश सभामा नेपाली कांग्रेसको २२, जनता समाजवादी पार्टी नेपालको १९, लोकतान्त्रिक समाजवादी पार्टीको ८, राप्रपाको १ गरी ५० सांसदहरु विश्वासको मतको विपक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot