Logo

नेपाल–भारत विकास सहकार्यअन्तर्गत लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि छात्रावास भवन शिलान्यास



काठमाडौं । मुस्ताङस्थित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिने छात्रावास भवन शिल्यान्यास गरिएको छ ।

शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिने छात्रावास भवनको आज संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

‘नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको नेपाली रुपैया ४ करोड १४ लाखको आर्थिक सहयोगमा उक्त छात्रावास भवनको निर्माण गर्न लागिएको हो । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र गुम्बा विद्यालय व्यवस्थापनका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस गुम्बा विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले छात्रावास भवनको निर्माणमा उपयोग गरिनेछ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । यस परियोजनाको कार्यान्वयन लोमान्थाङ गाउँपालिका, मुस्ताङमार्फत गरिनेछ । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरण भएको भारतीय दूतावासले जनाएको छ ।

कार्यक्रममा बोल्दै लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका अध्यक्ष र राजनीतिक प्रतिनिधिले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए ।

मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा र आवास सुविधा प्रदान गर्न नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । शिक्षाको विकास र धार्मिक रेखदेखमा योगदान पुऱ्याउनुका साथै यस क्षेत्रका आफ्नै संस्कृति र परम्पराको संरक्षण गर्न मद्दत गर्नेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये मुस्ताङका १७ वटा वटा परियोजनासहित गण्डकी प्रदेशमा विभिन्न क्षेत्रमा ५९ वटा परियोजना रहेका छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । त्यसमध्ये मुस्ताङ जिल्लालाई प्रदान गरिएको ११ वटा एम्बुलेन्स र ५ वटा स्कुल बससहित गण्डकी प्रदेशलाई ११९ वटा एम्बुलेन्स र ४० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot