Logo

ओलीसँग विद्रोह गरेर ठीक गर्यौं, नत्र गल्लीमा भड्किरहनुपर्ने स्थिति बन्थ्योः माधव नेपाल



काठमाडौं, १४ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विद्रोह गरेर पार्टी निर्माण गरेको औचित्य पुष्टि भएको बताएका छन् । आज (शुक्रबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालीन समयमा विकल्प नै नभएपछि विद्रोह गरेको बताए । अध्यक्ष नेपालले देशको संविधान बचाउन र राजनीतिक स्थिरताका लागि विद्रोह गरेको बताए ।

‘कसै–कसैले प्रश्न खडा गर्छन्, विद्रोहको औचित्य के छ ? विद्रोहबाहेक अर्को कुनै विकल्प थिएन । विद्रोह गरेर हामीले संविधान बचायौं, राजनीतिक स्थिरता कायम गर्यौं । हामीले मुलुकलाई सही दिशामा अगाडि बढाउनका लागि भूमिका निर्वाह गर्यौं । अत्यन्तै सही काम गर्यौं । कम्युनिष्ट आन्दोलनलाई जोगायौं । गलत प्रवृत्तिका विरुद्धमा जुध्यौं, आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनका लागि फेरि पनि पार्टीलाई क्रान्तिकारीकरण गर्नका लागि पनि हामीले नयाँ पार्टी निर्माण गर्नुपर्ने काम पनि गर्यौं,’– उनले भने ।

तत्कालीन अवस्थामा केपी ओलीसँग आत्मसमपर्ण गर्न नसकेपछि विद्रोह गर्नुपरेको उनको भनाइ छ । उनले भने,‘ नयाँ पार्टी निर्माण गरेर, विद्रोह गरेर न्यायोचित काम गर्यौं । नभए हामी हराइसकेका हुन्थ्यौं । हामीले गल्लीमा भड्किरहनुपर्ने स्थिति बन्थ्यो । आत्म समर्पण गर्नुपर्ने अवस्था बन्थ्यो । हामीले ती सबै कुरालाई स्वीकार गरेनौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot