Logo

‘जबज नेपाली क्रान्तिलाई बाटो देखाउने सिद्धान्त’



काठमाडौँ, १४ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली क्रान्तिलाई बाटो देखाउने सिद्धान्तका रुपमा रहेको बताएका छन् ।

मदन भण्डारी फाउन्डेसनले आज ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजना गरेको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार तथा जबजः राजनीतिक विकास र स्थायित्व’ विषयक विचार गोष्ठीमा उनले देशकोे आवश्यकता र अति जरुरी सिद्धान्तका रुपमा जबज रहेको बताए ।

जबजले अहिले पनि मार्गदर्शन गरिरहेको भन्दै पार्टीले अहिले जबजलाई प्रभावकारी रुपमा अघि बढाइरहेको उनको भनाइ छ । उनले देश, जनताको समस्या समाधानप्रति जबज प्रतिबद्ध रहेको धारणा राखे ।अध्यक्ष ओलीले जनताका हितलाई सुनिश्चित गर्ने अनुकूल परिस्थिति प्रदान गर्ने प्रयास नै जबज रहेको बताए ।

मदन भण्डारीको अगुवाइमा एमालेले जबज प्रतिपादन गरेको उल्लेख गर्दै जबज सङ्घर्षको अनुभवबाट निस्केको निष्कर्ष रहेको उनको धारणा थियो । देशको राजनीति र विकासको अवस्थालाई उन्नत स्थितिमा पुर्याउन, आधुनिकतालाई उन्नत आधुनिकीकरणमा पुर्याउन, अर्थतन्त्रलाई माथिल्लो स्तरमा लैजान र शासक प्रशासकलाई उच्चस्तर बनाउने काम जबजले गरेको उनको जिकिर थियो ।

“हाम्रो समाजमा रहेका विकृति–विसङ्गतिलाई हटाउँदै सुन्दर, समानतायुक्त, न्याययुक्त समाज, सांस्कृतिक हिसाबले उन्नत र सुसंस्कृत, मानवीय समाजमा लैजाने भन्ने कुरा जबजमा छ,”– उनले भने ।

उनले नेपालको भूराजनीतिक विषयमा दुई ठूला मित्र राष्ट्रसँगको सम्बन्धलाई सदुपयोग गर्नुपर्ने धारणा राखे । “हाम्रो मित्र हुन् भन्ने ठानेर हामीले हाम्रो रुचिका विषयबारे खुलस्त कुरा गर्नुपर्दछ,” उनले भने, “हाम्रो रुचि यो हो हाम्रो जायज माग यो हो भनेर कुरा गर्नुपर्दछ र हामी यस्तो धारणा राख्दछौँ, हाम्रो कुरा सही छ भनेर भन्नुपर्दछ ।”

फाउन्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले जबजलाई कम्युनिष्ट पार्टीको राजनीतिक सिद्धान्तका रुपमा विकास गर्न आवश्यक रहेको बताए । उक्त कार्यक्रममा अध्यक्ष ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत पार्टीका शीर्षनेताहरुले मदन भण्डारीको तस्बिरमा माल्यार्पण गरेका थिए । सोही कार्यक्रममा अध्यक्ष ओलीले फाउन्डेसनले प्रकाशित गरेको ‘दिशाबोध’ नामक पुस्तकको विमोचन गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot