Logo

झलनाथले भने: सहमति नभए चुनाव हुन्छ, घनश्यामसँग भेटेको मात्र हुँ, गुट बनाएको छैन्



काठमाडौं,१५ असार । नेकपा एकीकतृ समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पार्टीको नेतृत्व सकेसम्म सर्वसम्मत रुपमा चयन हुने बताएका छन् ।

भोलिबाट सुरु हुन लागेको पार्टीको १०औं महाधिवेशनको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले सर्वसम्मत नभएमा चुनावबाट लोकतान्त्रिक विधि अपनाएर नेतृत्व चयन गरिने स्प्रष्ट पारे ।

उनले भने, ‘अबको नेतृत्व सर्वसम्मत ढंगले निर्माण गरौं, त्यसले सिंगो कम्युनिष्ट आन्दोलनलाई ठिक दिशामा अगाडि बढाउँछ। हामी नेताहरुमा केही त्यस्तो ठूलो समस्या छैन। कहिलेकाहिँ बहस गर्छौँ। कम्युनिष्ट पार्टीका नेताहरुका बीचमा बहस हुनु कुनै ठूलो कुरा होइन।’

फरक प्रशंगमा खनालले आफूले कसैसँग पनि गुट नबनाएको र कसैसँग भेट्दैमा मिलेको भनेर नअर्थ्रयाउन कार्यकर्तालाई आग्रह गरे । गत बुधबार सम्मानीत नेता खनाल र महासचिव भुसालबीच मिलेर जाने सहमति भएको थियो । सो सहमति अनुसार खनालले भुसाललाई अध्यक्षमा अघि सार्ने र खनाल सम्मानीत नेताको रुपमा रहने भनिएको थियो । तर, खनालले भने नेताहरुसँग भेटघाट मात्र भएको र कुनै गुट नबनेको दाबी गरेका छन् । उनले महाधिवेशनको बेलामा सामान्य भेटघाट हुनु नौलो नभएको बताए ।

‘मलाई गुटबन्दीको कुरा आउँदैन । माधवजीले पनि गर्नुहुन्छ भन्ने लाग्दैन । कहिलेकाहीँ कमरेडहरू आएर छलफल गर्छौँ, त्यो घरमा होला, रेस्टुरेन्टमा होला । महाधिवेशनअघि यस्तो सामान्य हो । तर, यदि गुटबन्दी भएको छ भने त्यो गलत हो ।’

उनले पार्टीमा नेताहरूको बीचमा कहीँ पनि ठूलो समस्या नरहेको बताए । खनालले कम्युनिष्ट पार्टीका नेताहरूको बीचमा बहस हुनु ठूलो कुरा नभएको तर्क गरे । उनले सहमति हुनै नसके लोकतान्त्रिक पद्धतिबाट नेतृत्व निर्माण हुने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot