Logo

गोकुलले विद्या भण्डारीमार्फत ओलीलाई देखाए शक्ति



काठमाडौं,१५ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार आफ्नो पूर्वपार्टी नेकपा (एमाले) को एउटा जिल्लाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर औपचारिक रुपमा राजनीतिमा फर्किएको सन्देश प्रवाह गरेकी छिन् । शुक्रबार एमाले काभ्रे जिल्ला कमिटीले धुलिखेलमा जननेता मदनकुमार भण्डारीको ७३औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएकी भण्डारीलाई लिएर पार्टीभित्रैबाट सक्रिय राजनीतिमा आएको भनेर चर्चा भएको छ ।

हुन त, विद्या स्वर्गीय मदनकी धर्मपत्नी हुन् । लगातार दुई कार्यकाल मुलुकको राष्ट्रपति भएर एक वर्षअघि बिदा भएकी उनी एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चा लामो समयदेखि चल्दै आएको थियो । हालैका केही महिनामा उनी पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएर राजनीतिमा फर्किने छनक देखाएकी थिईन् । तर, शुक्रबार भने उनले १ घण्टाजति भाषण गर्दै सक्रिय राजनीतिमा फर्किएको संकेत दिएकी छन् ।

धुलिखेल नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमको चाँजोपाँजो एमाले पोलिटब्यूरो सदस्यसमेत रहेका काभ्रे-२ का सांसद गोकुल बाँस्कोटा र धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यञ्जुले गरेका थिए । पूर्व सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका बाँस्कोटा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट छन् ।

कुनैबेला ओलीका अत्यन्तै निकट रहेका बाँस्कोटा ओली निवास बालकोटमा नै बस्ने गरेको चर्चा हुन्थ्यो । तर, पछिल्ला दिनमा उनी बालकोटसँग निक्कै रुष्ट छन् । ओली र बाँस्कोटाको सम्बन्ध बिग्रिएको कुरालाई काभ्रे जिल्ला अधिवेशनको गतिविधिले पनि पुष्टि गर्छ । दुई साताअघि एमाले काभ्रेको जिल्ला अधिवेशन भएको थियो । सो अधिवेशनमा प्रमुख अतिथ ओली थिए । तर, आफ्नो गृह जिल्लामा आएका ओलीले होच्याएर बोलेको, नाम नलिईकन झपारेको भन्दै बाँस्कोटा असन्तुष्ट छन् ।

जिल्ला अधिवेशनमा बाँस्कोटाले अघि सारेका राजन भूर्तेललाई हराउन ओलीले युवा संघका कार्यकर्ता खटाएपछि उनी झनै बिच्किएको चर्चा छ । भुर्तेलविरुद्ध उठेका चन्द्र लामालाई बालकोटको पूर्ण साथ रहेको बताइन्छ । यद्यपी गोकुलले आफ्नो शक्ति देखाउँदै पदाधिकारीमा भुर्तेल नेतृत्वको प्यानलै जित हाँसिल गराएका थिए ।

ओलीले आफ्नो आलोचना गरेको १८ दिनमा उनै बाँस्कोटाले मदन जयन्तीको अवसर पारेर विद्या भण्डारीलाई जिल्लामा उपस्थित गराएर कार्यक्रम गरेका हुन्। लामो समयदेखि ओलीका ‘खास’ नेताका रूपमा रहँदै आएका खरो स्वभावका बाँस्कोटाले ओलीसँग असमझदारी बढेका बेला भण्डारीलाई जिल्लामा ल्याएर कार्यक्रम गर्नु अर्थपूर्ण रहेको छ। पूर्व राष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किनुपर्छ भन्ने नेतामध्ये बाँस्कोटापनि एक हुन्।

एमालेमा तत्कालीन महासचिव माधवकुमार नेपाल शक्तिमा आएपछि ओलीलाई कुनैपनि जिल्लास्तरको कार्यक्रममा प्रमुख अतिथि नबनाउनु भन्ने आदेश हुँदापनि नेपालको आदेशलाई लत्याउँदै बाँस्कोटाले नै पहिलोपटक काभ्रेमा ओलीलाई प्रमुख अतिथि बनाएर कार्यक्रमको आयोजना गरेका थिए । तर, पार्टीको १०औं महाधिवेशनमा सचिवको आकांक्षा राखेका उनी पोलिटब्यूरोमा धकेलिएपछि असन्तुष्ट बनेको स्रोतको भनाइ छ ।

यता प्रमुख अतिथि बनेर धुलिखेल पुगेकी पूर्व राष्ट्रपति भण्डारीले भने एमालेलाई टुटफुट र गुटबाट मुक्त गराउनुपर्ने भन्दै भाषण गरेकी थिईन् । ‘एमाले जहिलेपनि अलिक अगाडि बढ्न खोज्दा समस्या सुरु हुने गर्छन्, मैले ०५४ सालमा पनि विभाजन गर्नुहुँदैन भनेर बेस्सरी काम गरें । मतभेद छन् भने आन्तरिक रुपमा समाधान गर्नुपर्छ, छलफल संवाद गर्नुपर्छ भनें । एकदिन सत्यको जीत हुन्छ भनें । मैले नेताहरुलाई कलंकको टीका नलगाउनुस् भनेँ । उहाँहरुले खरानी हुन तयार छौं भन्न थाल्नुभयो’उनले भनेकी थिईन् ।

भण्डारीले तत्कालीन नेकपाको विभाजन रोक्न् आफूले भरपूर प्रयास गरेको पनि पहिलोपटक खुलासा गरेकी छन् । उनेल ५ महिना पर्खनुस महाधिवेशन हुने वातावरण मिलाउँछु भन्दा पनि पार्टी फुटाउन खोज्नेहरुले नमानेको दाबी गरेकी छन् । ‘ मैले त्यसबेला पाँच महिना पर्खिनुस् । महाधिवेशन हुन्छ भनेर सम्झाएँ, तर पर्खिन सकिएन (सकेनन्) । मैले कोसिस नगरेको होइन । मैले आफ्नो ठाउँबाट धेरै कोसिस गरें । खुट्टा समातेर ढोग्न सकिएन, तर अनुरोध गरियो । यत्रो गर्दा पनि विपक्षीहरुसँग साँठगाँठ गर्ने काम भयो । आज परिस्थिति के भएको छ ?’ उनले भनिन् ।

भण्डारीलाई प्रमुख अतिथि बनाएर बाँस्कोटाले कार्यक्रम गर्दा ओलीसँग कुनै समन्वय र सल्लाह नै नगरिएको स्रोतको दाबी छ । उता, भण्डारीलाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम गरिँदा यहाँ मदन भण्ठारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा भने ओली प्रमुख अतिथि थिए । पछिल्लो समय ओलीले विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउनको लागि खुला रुपले संकेत गरेका छैनन् । उनी भण्डारीलाई सक्रिय राजनीतिमा आएको रुचाउँदैनन् ।

मुलुकको प्रमुख भैसकेको व्यक्ति पार्टीको राजनीतिमा आउँदा गरिमा घट्ने उनको बुझाई छ । र, आफ्नो सन्देशपनि भण्डारीकहाँ पुर्याएका छन् । तर, विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ, गोकुल बाँस्कोटालगायतका प्रभावशाली नेताहरु भण्डारीलाई जसरी पनि सक्रिय राजनीतिमा ल्याउन लागिपरेका छन् । यसअघि भण्डारीलाई सक्रिय राजनीतिमा आउनको लागि सुवास नेम्वाङले पनि भूमिका खेलेका थिए । तर, नेम्वाङको निधन भएपछि भण्डारीलाई पार्टीको राजनीतिमा ल्याउन चाहेकाहरु निष्क्रिय बनेका थिए । हिजोबाट भने गोकुलले सक्रियता बढाएका छन् ।

कतिपयले गोकुलले अध्यक्ष ओलीसँग सिधा टक्कर गर्नेगरि भण्डारीलाई गृहजिल्लामा उभ्याएर शक्ति देखाएको भनेरपनि विश्लेषण गरेका छन् । अहिले आफूसँग गोकुलको सम्बन्ध चिसिएको बेलामा ओलीले भने कुनैबेला गोकुलसँग सम्बन्ध बिग्रिएका अर्वपति विनोद चौधरीसँग सामिप्यता बढाएका छन् । विनोद चौधरी जुन २१ मा ओली निवास बालकोटमा पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot