Logo

पदाधिकारी थपिएकोबारे माधव नेपालको जवाफ: पार्टी ठूलो भयो, ठूलो भएपछि पद पनि बढ्यो



काठमाडौं,१५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी ठूलो भएका कारण पदाधिकारीको संख्या बढेको बताएका छन् । भोलिबाट सुरु हुने पार्टीको १०औं महाधिवेशनबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् ।

‘सानो पार्टी हुन्छ, थोरै पदले काम चल्छ । पार्टी ठूलो हुँदै जान्छ, धेरै पदको आवश्यकता पर्छ । यसरी बुझे पनि भयो । त्यसो हुनाले पदको विषयलाई अन्य हिसाबले लिन जरुरी छैन’, उनले भने ।

एकीकृत समाजवादीले हालै बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पद थप्ने र पदाधिकारीको संख्या २१ जना पुर्याउने निर्णय गरेको थियो । सो निर्णय अहिले आलोचित बनिरहेको छ ।

फरक प्रसंगमा उनले पार्टीका सबै नेता–कार्यकर्ताले एकताबद्ध भएर महाधिवेशन सम्पन्न गर्ने संकल्प लिएको उल्लेख गरे । महाधिवेशनमा गुटबन्दी नहोस् भन्ने नेता–कार्यकर्ताको चाहना प्रशंसनीय रहेको बताएका छन् ।

‘कहाँ–कहाँ भेला भइरहेको छ ? अनि, भेला नभएर के गर्छन् त, घरमा नै लुकेर बस्छन् त कोही ? बस्छन्, कुराकानीहरू हुन्छन् । छलफल हुन्छ । कोही रेस्टुराँमा जान्छन्, कोही होटेलमा जान्छन् । छलफल गर्दछन् । चिया खान्छन् । भेटघाट हुन्छ । यत्रा कार्यकर्ता छन् हामीकहाँ । देशभरिका कार्यकर्ता आउँदा त झन् ज्यादा होटेलका होटेलहरू पनि भरिएका होला । त्यो होटेलमा किन गए भन्नु त भएन । तपाईंहरूको भनाईंको अर्थ के हो भने गुटबन्दी नहोस् । नेताहरू मिलेर अघि बढून । गुटले धेरै ठूलो क्षति पुर्‍याएको छ । विगतमा पनि गुटले गर्दाखेरि कम्युनिस्ट आन्दोलनले ठूलो धक्का खानुपरेको छ’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot