Logo

देउवाले गरे ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव, गम्भीर छलफल गर्दै एमाले



काठमाडौं,१६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारको नेतृत्व गर्नेगरि दुई दल मिलेर जान प्रस्ताव गरेका छन् ।

शनिबार ओली निवास बालकोटमा भएको छलफलमा मुलुकको स्थायित्व र सुशासनका लागि दुई ठूला दल मिल्नुको विकल्प नभएको बताउँदै ओलीलाई सरकारको नेतृत्व लिन र कांग्रेस एमाले मिलेर सरकार चलाउन प्रस्ताव गरेको उच्च स्रोतले जनाएको छ ।

शनिबार ओली र देउवाबीच बालकोटमा ३ घण्टा लामो छलफल भएको थियो । सो भेटमा राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा हेरफेर र आर्थिक अवस्था सुधारका लागि प्रमुख दुई दल मिल्नुपर्ने विषयमा केन्द्रीत रहेको स्रोतको दाबी छ ।

२०७९ मंसिरको चुनावपछि कांग्रेस र एमालेबीच नयाँ सरकारबारे संवाद भएको थियो । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि दुई दलबीच संवादहीनताको स्थिति सिर्जना भएको थियो ।

२०८० फागुन ३० गते प्रतिनिधिसभामा प्रचण्डले विश्वासको मत लिने क्रममा ओलीले विगतमा संवाद गरौँ भन्दा देउवाले अस्वीकार गरेको बताएका थिए । लगत्तै देउवाले अब कुराकानी गर्ने जवाफ फर्काए ।

गत वैशाखमा दुई दलबीच पुनः संवाद शुरू भएको थियो । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं वर्षगाँठको कार्यक्रममा एमालेले देउवालाई महत्वका साथ कार्यक्रममा बोलाएको थियो । त्यही बेला दुई दल नजिकिएका थिए ।

पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यको बारेमा दुवै दलका दोस्रो तहका नेताहरुले नेतृत्वसमक्ष दबाब सिर्जना गरेका छन् । ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सम्बन्ध चिसिएको चर्चा चलेको छ ।

बजेटको विषयमा ओलीले सार्वजनिक रुपमै आलोचना गर्नुले पनि प्रधानमन्त्री दाहालसँग उनको सम्बन्ध चिसिएको भनेर आँकलन गरिएको थियो ।

यता देउवाले प्रधानमन्त्रीको अफर गरेपछि गम्भीर रुपमा पार्टीमा छलफल गर्ने जवाफ ओलीले देउवालाई दिएको स्रोतको दाबी छ । उच्च स्रोतले दिएको जानकारी अनुसार देउवाको प्रस्तावलाई ओलीले उच्च महत्वका साथ लिँदै छिट्टैनै पार्टीको बैठक बोलाएर निष्कर्षमा पुग्ने जवाफ दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot