Logo

एमालेको प्रश्नः एकीकृत समाजवादीको महाधिवेशन १०औं कसरी ?



काठमाडौं, १६ असार । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले एकीकृत समाजवादीको महाधिवेशनलाई १०औं मान्न नसकिने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कुनै पनि भ्यालिड तर्क, राजनीतिक तर्कले एकीकृत समाजवादीको महाधिवेशनलाई १०औं मान्न नसकिने बताएका हुन् । उनले

‘यो कसरी भयो उहाँहरुको १०औं महाधिवेशन ? उहाँहरुले यो बारेमा जे भन्दै हुनुहुन्छ, यो कुनै भ्यालिड तर्क, राजनीतिक तर्क हो भन्ने लाग्दैन । उहाँहरुले पार्टी फुटाएर जानुभएको छ । पार्टी पनि बलसहितको फुटाएको होईन । एउटा सोफामा बस्न पाइएन, आशन तलमाथि भयो भन्ने कुण्ठाबाट जानुभएको समूह साथीहरु हो ।’ उनले भने, ‘उहाँहरुले महाधिवेशन गर्दैहुनुहुन्छ, शुभकामना छ । धेरै टिप्पणी गर्ने कुरा छैन । तर, उहाँहरुको १०औं महाधिवेशन चाहीँ कसरी भन्नुभएको छ ? कुन दर्शनले प्रमाणित गर्छ यो कुरा ? यो जानकारी भएन ।’

नेता बर्तौलाले एकीकृत समाजवादीको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने बताए । अध्यक्ष ओली एकीकृत समाजवादीको महाधिवेशनमा सहभागी हुने सेड्यूल नै नरहेको उनको भनाइ छ । ‘हाम्रो अध्यक्षज्यू उहाँको कार्यक्रममा सहभागी हुने सेड्यूल रहेको म देख्दिँन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot