Logo

राजनीतिमा गलत प्रवृत्ति हुर्किन नदिन कांग्रेस-एमाले मिल्नुपर्छः सह-महामन्त्री पाण्डे (भिडिओसहित)



काठमाडौं, १६ असार । नेपाली कांग्रेसका सह–महामन्त्री बद्री पाण्डेले देशमा देखिएको विभिन्न खाले समस्या समाधान गर्न र राजनीतिक स्थायित्वको लागि एमालेसँग मिलेर सरकार बनाउन आवश्यक रहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजनीतिमा गलत प्रवृत्ति हुर्किन नदिन कांग्रेस–एमाले मिल्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री बन्नकै लागिमात्र सरकार परिवर्तन हुने हो भने वर्तमान सरकार नै रहन दिनुपर्ने उनको भनाइ छ । उनले देशको अर्थतन्त्र संकटमा रहेको बेला र व्यवस्था विरोधी तत्वहरु सल्बलाइरहेको अवस्थामा कांग्रेस–एमाले मिलेर अगाडि बढ्नुपर्ने बताए ।

‘नेपाली कांग्रेस र नेकपा (एमाले) एक ठाउँमा हुनासाथ दुई तिहाइका लागि पनि समस्या हुँदैन । त्यस्तो हो भने हामी कानुनहरु पनि परिवर्तन गर्नसक्छौं । सरकार पनि परिवर्तन गर्नसक्छौं । सरकारलाई स्थायित्व दिनसक्छौं । आवश्यकता पर्यो भने संविधानको व्यवस्था पनि बदल्न सक्छौं । राजनीतिमा गलत प्रवृत्ति हुर्किँदैछन् । यी प्रवृत्तिहरुलाई रोक्नका लागि पनि हामी दुईटा पार्टीले देशव्यापी रुपमा साझा अभियान चलाउन सक्छौं,’– उनले भने ।

हिजो (शनिबार) नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भेटवार्तातर्फ लक्षित गर्दै उनले सत्ता केन्द्रीत मात्रै भयो भने यस्तो छलफल निरर्थक हुने बताए ।

देशलाई पद्धतिअनुसार ठीक बाटोमा लिएर जानका लागि उच्चतम् समझदारी चाहिने बताउँदै उनले दुईटा ठूला दल मिलेको खण्डमा त्यो सम्भव रहेको बताए । ओली–देउवाबीचको छलफल गर्भमै रहेको टिप्पणी गर्दै उनले अहिले नै कांग्रेस–एमालेबीचको सरकार बन्ने भयो भनेर ठोकुवा गर्नु हतार हुने बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot