Logo

कांग्रेस र रास्वपाले चाहेको समाजवाद यही हो भने मान्छे खुसी हुँदैनन्ः विप्लव



काठमाडौं, १६ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले चाहेको समाजवाद यही हो भने जनता खुसी नहुने टिप्पणी गरेका छन् । नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई अग्रगमन दिन सक्ने समाजवादको बारेमा बहस गर्नुपर्ने बताएका हुन् । उनले समाजवादी गणतन्त्र, समाजवादी संघीयतामा नेपालका सबै पुराना पार्टीका नेताहरुले छलफल गर्न आवश्यक रहेको बताए ।

‘नेपाली कांग्रेसले चाहेको लोकतान्त्रिक समाजवाद के हो ? यही हो कि अर्को हो ? रविहरुले भन्नुभएको समाजवाद यही हो कि अर्को हो ? यही हो भने यो समाजवादमा मान्छे खुसी हुँदैन । अर्को हो भने हामी सबैले नयाँ बहस गरौं । नेपाललाई अग्रगमन दिनसक्ने भनेको समाजवाद हो । समाजवादी गणतन्त्र, समाजवादी संघीयतामा नेपालका सबै पुराना पार्टीका नेताहरुले छलफल गरुन्, भाग लिउन् । हाम्रो पार्टीको तर्फबाट के योगदान गर्नुपर्छ ? हामी तयार छौं,’– उनले भने ।

यथास्थितिलाई राजनीतिक दलले संरक्षण गर्न नहुने उनको भनाइ छ । उनले राजनीतिको मूल प्रवृत्तिमा गति, परिवर्तन, निरन्तरता र अग्रगमन हुनुपर्ने बताए । नेता विप्लवले नेपाल सुन्दर रहेको बताउँदै यही सुन्दरतामा साह्रा कुतत्वहरुको आँखा परिरहेको बताए ।

उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई २००६ सालमा फर्काएर नयाँ बहसको सुरुवात गर्नुपर्ने बताए । Photo By: Mukunda kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot