Logo

रास्वपामा भईरहेको भाँडभैलोबारे रविसँग प्रचण्ड-ओलीको चासो



काठमाडौं,१६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीचको छलफल सकिएको छ ।

तीन नेताबीच आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा झण्डै २ घण्टा छलफल भएको थियो । सो छलफलमा संसद्मा जारी टीआरसी विधेयक, सरकार र समसामयीक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताईएको छ ।

यसैबीच बैठकमा ओली र प्रचण्डले रास्वपा सभापति लामिछानेसँग रास्वपामा देखिएको असन्तुष्टिबारे चासो राखेका छन् । बालकोट स्रोतका अनुसार प्रचण्डसँगै ओलीले तपाईहरुको पार्टीमा के भएको हो । खास भन्दै गम्भीर चासो राखेका थिए । जवाफमा लामिछानेले त्यस्तो ठूलो समस्या केही नभएको र सामान्य अवस्थामा नै पार्टी रहेको जवाफ दिएका छन् ।

रास्वपा महामन्त्री डा। मुकुल ढकालले ३९ जिल्लाका नेता तथा कार्यकर्तासँग छलफल गरेर त्यसको प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए। पार्टीमा बुझाउनुअघि नै सञ्चारमाध्यमहरूमा प्रतिवेदनका कुरा सार्वजनिक गरेकोलगायत विषयलाई लिएर महामन्त्री ढकालमाथि गत शुक्रबार पार्टीको अनुशासन समितिले स्पष्टीकरणसमेत सोधिसकेको छ।

ढकालको सो प्रतिवेदन सार्वजनिक भएपछि रास्वपामा भाँडभैलो सुरु भएको छ । ढकालले तत्काल सरकार छाड्नुपर्ने बताएका छन् । उनले ओली र प्रचण्डसँगको सहकार्य तोडेर काठमाडौं र धनगढीको मेयरसँग मिल्नुपर्ने प्रस्ताव राखेका थिए । सो प्रतिवेदनपछि रास्वपामा तरंग छाएको छ ।



प्रतिक्रिया दिनुहोस्