Logo

एकीकृत समाजवादीले अस्थिर भनेपछि प्रचण्डको जवाफ, ‘मजस्तो अर्को कोही छ ?’



काठमाडौं, १६ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अस्थिर प्रवृत्तिको नभएको प्रष्ट पारेका छन् । नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले प्रचण्डकै गतिशीलताले जनयुद्ध हुँदै शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको बताए । उनले आफूजस्तो गतिशील मान्छे कोही नभएको पनि दाबी गरे ।

‘प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुँदैन थियो । प्रचण्ड अलि अस्थिर (इन्भ्रटेड कमाको अस्थिर है, फेरि साँच्चै अस्थिर नठान्नुहोला) नभएको भए शान्ति सम्झौता पनि हुँदैन थियो । यो प्रक्रियामा हामी यहाँ आइपनि पुग्ने थिएनौं । अर्को कोही छ ?’ प्रश्न गर्दै उनले भने, ‘म यो प्रश्नबारे तपाईँ सबै साथीहरुलाई गतिशीलता भनेको के हो ? द्वन्द्वात्मक भौतिकवाद, हरेक चिज निरन्तरताको प्रवाहमा हुन्छ, प्रक्रियामा हुन्छ भनेको के हो ?’

किलोजस्तै एक ठाउँमा ठोकिएर बसिराख्नु मार्क्सवाद नभएको उनको भनाइ छ । उनले गड्गडाउँदो नदीजस्तो भएर हुर्रिनुलाई मार्क्सवादको रुपमा चित्रण गरे । जमेको पोखरीजस्तो नभइ ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितिअनुसार निश्कर्ष निकाल्नुलाई उनले मार्क्सवादको रुपमा चित्रण गरे ।

‘मेरो दाबी के छ भने, नेकपा (माओवादी केन्द्र) र यहाँ विप्लवजी पनि हुनुहुन्छ, एक ठाउँमा बस्ने भन्ने हुँदैन हाम्रो । हामी दौडिराखेका हुन्छौं । तर, यो सही थियो या गलत थियो भन्ने मूल्याङ्कन कसरी गर्ने ? त्यो दौडाइबाट नेपाली समाज अगाडि बढ्यो, सामन्ति निरङ्कुशताबाट देश गणतन्त्रमा गयो भनेपछि त्यो गतिशीतला हो अस्थिरता होईन । यदि युद्धबाट शान्तिमा देश आयो भने त्यो गतिशीलता हो, अस्थिरता होईन, अराजकता होईन,’– उनले भने ।

एकीकृत समाजवादीले आफ्नो राजनीतिक प्रतिवेदनमा माओवादीलाई अस्थिर राजनीतिक दलको रुपमा चित्रण गरेको थियो । माओवादीलाई सम्मान गर्नुपर्ने एकीकृत समाजवादीले अपमान गरेको उनको भनाइ छ । जसलाई सम्मान गर्नुपर्ने हो त्यसलाई अपमानित गरियो भने राम्रो हुँदैन नि,’– उनले भने ।

प्रधानमन्त्री प्रचण्डले महाधिवेशनमा सही विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक आचरणसहित कम्युनिष्ट आन्दोलन र गणतन्त्रवादी शक्तिहरुको पक्षमा निर्णय गर्न सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot