Logo

प्रचण्डलाई माधवले भने: प्रधानमन्त्रीज्यू प्रतिनिधि सभा विघटन ठिक थियो भन्नेहरू अहिले पनि छन्, विचार गर्नुहोला



काठमाडौं,१६ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अझैपनि निरंकुश बन्नेतर्फ गएको भन्दै सचेत रहन आग्रह गरेका छन् ।

आजबाट सुरु भएको पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सचेत गराउँदै ओलीले संसद विघटन ठीक थियो भनेको र अझैपनि त्यो खतरा कायमै रहेको भन्दै जोगिनसमेत आग्रह गरेका छन् ।

‘हामीले संविधानको रक्षा गर्दै, गणतन्त्रको रक्षा गर्दै, यही पार्टीले नै केही गर्ने सक्छ भन्ने विश्वास बनायौँ’, उनले मञ्चमा रहेका प्रचण्डतिर लक्षित गर्दै भने, ‘प्रधानमन्त्रीज्यू प्रतिनिधि सभा विघटन ठिक थियो भन्नेहरू अहिले पनि छन् रे ! विचार गर्नुहोला।’ उनले यो प्रसंग झिकेर महाधिवेशनको उद्घाटनमा नआएका एमाले अध्यक्ष ओलीलाई प्रहार गरेका हुन् ।

आजबाट सुरु भएको पार्टीको महाधिवेशनमा नेकपा एमाले उपस्थित भएको छैन् । एमालेबाटै ३ वर्षअघि टुक्रिएर नयाँ पार्टी बनेको हुँदा एमालेले अहिले पनि एकीकृत समाजवादीलाई राजनीति दल मान्दैन । त्यसैले पनि महाधिवेशनमा नगएको हो । एमाले महाधिवेशनमा नआएपछि पूर्व प्रधानमन्त्री नेपाल निक्कै आक्रोशित देखिएका थिए । नेपालले पार्टी विभाजनको घाउ आलै भएको कारण उपस्थित नभएको हुनसक्ने बताएका थिए ।

नेपालले भने, ‘तपाईंहरूलाई जिज्ञासा होला, एमालेबाट कोही किन आएन भन्ने । मैले दशौँपटक फोन गरेको छुँ । पीएहरूलाई पनि फोन गरेँ । फोन नलागेपछि एसएमएस पनि डिटेलमै पठाएँ । तर, तीन वर्षको आलै घाउ होला ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot