Logo

राष्ट्र र जनताको आवश्यकता पूरा गर्ने चूनौतिपूर्ण जिम्मेवारीमा छौंः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत राष्ट्र र जनताको आवश्यकता पूरा गर्ने चूनौतिपूर्ण जिम्मेवारीमा रहेको बताएका छन् । आज (आइतबार) नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशनको उद्घाटना समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

साथै, उनले नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास एकता, विभाजन र रुपान्तरणको शृङ्खलामा गुज्रिदै आएको बताए । उनले एकीकृत समाजवादी र माओवादी अहिले पनि एउटै मोर्चा (समाजवादी मोर्चा) मा रहेको बताउँदै कम्युनिष्ट आन्दोलनमा एकता कायम गर्ने समान धारणाको साथ अगाडि बढिरहेको बताए ।

साथै, कम्युनिष्टहरु निराशावादी र अतीतमुखी हुँदै गएको उनको भनाइ छ । ‘कम्युनिष्टहरु कहिले पनि अतीतमुखी होईन, भविष्यमुखी भएर सोच्छन्, निराशावादी भएर होईन, आशावादी भएर सोच्छन् । क्रान्तिकारी आशावादिता कम्युनिष्टहरुको विशेषता हो,’– उनले भने ।

आफूले प्रधानमन्त्रीको तेस्रो कार्यकालको नेतृत्व गरेदेखि नै लगातार भ्रष्टाचारविरोधी पहल कदमी लिएको बताए । उनले भ्रष्टहरु अहिले पनि पक्राउ पर्ने र जेल जाने क्रम जारी रहेको बताए । अहिले यहाँ सबै भ्रष्ट छन् भनेर भ्रष्टाचार विरोधी अभियानलाई नै निस्तेज पार्न खोजिएको बताए ।

‘मैले यो पटक नेतृत्व गरेदेखि नै लगातार भ्रष्टाचारको विरुद्ध पहल कदमी लिएको छु । अहिले पनि भ्रष्टहरु गिरफ्तार हुने, तिनीहरुमाथि मुद्दा चल्ने प्रक्रिया चलिनै राखेको छ । तर, यहाँ फेरि सबै भ्रष्ट छन् भन्ने प्रचार गर्न खोजिएको छ । भ्रष्टाचार विरोधी अभियानलाई पनि निस्तेज पार्ने किसिमका प्रचारबाजीहरु ठीक छैन,’– उनले भने । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot