Logo

रास्वपाको केन्द्रीय समिति बैठक लाइभ गर्नुपर्ने पक्षमा बलियो मत, कार्की पनि थपिए



काठमाडौं, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश कार्कीले पनि पार्टी केन्द्रीय समिति बैठक लाइभ गरिनुपर्ने बताएका छन् । उनले पार्टीभित्रको धोका, छलकपट, नातावाद र मैमत्तावाद उर्तान बैठक लाइभ हुनुपर्ने धारणा राखेका छन् । कार्कीले यसलाई पार्टी सुद्धीकरण बाटो भनेका छन् ।

साथीहरू, लाइभ गरौँ । सबैले थाहा पाउन्, आफैले शिकार गर्दै घाइते मृगको आडैबाट उल्टो ममाथि अन्याय भइराछ भनेर को गर्जिरहेको छ । सबैले थाहा पाउन्, विधिलाई च्यातेर पार्टीको चरित्रमाथि पहिलो प्रहार कसले गरेको हो । सबैले थाहा पाउन्, कसले अनेकन कृत्य गरेर डिलैमा पुर्यायो र झर्न लाग्यो भनेर आरोप लगाइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकारूपमा कहाँ कहाँ धोका, छलकपट, नातावाद, मैमत्तावाद र आत्ममुघ्धताको घीनलाग्दो कपडा लगायौँ, खुला छलफल गरौँ । एक एक उतारौँ । केवली बनौँ । राजनीतिक कैवल्य बाढौँ । ताकि शान्ति र समृद्धिको बाटो पक्का र प्रस्ट बनोस् । यहि हो बाटो शुद्धिकरणको । र, यो आवश्यक छ,’– उनले समाजिक सञ्जालमार्फत भनेका छन् ।

त्यस्तै, महामन्त्री डा.मुकुल ढकालले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण (लाइभ) गर्न माग गरेका थिए । यसबारेमा लामिछानेले जवाफ दिइसकेका छैनन् । ढकालले समीक्षा यात्राको प्रतिवेदन बुझाएपछि त्यसमाथि छलफल गर्ने कार्यसूचीसहित रास्वपाले बुधबार बैठक बोलाएको छ ।

महामन्त्री ढकालले ३९ जिल्लाको भ्रमणबाट फर्किएपछि तत्काल पार्टीमा सुधार नगर्ने हो भने पार्टी विवेकशीलको बाटो गएको समीक्षा प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनका संवेदनशील विषय सार्वजनिक गरेको भन्दै रास्वपामा महामन्त्रीलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ । महामन्त्री ढकालले पेश गरेको सो प्रतिवेदनपछि उनीमाथि घेराबन्दी सुरु भएको चर्चा हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot