Logo

केपी ओली र एमालेप्रति एकीकृत समाजवादीमा थप घृणा थपिएको छः उपमहासचिव खतिवडा



काठमाडौं, १७ असार । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहंकारका कारण निमन्त्रणा स्वीकार नगरेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले निमन्त्रणा पठाउँदा र पटक–पटक आग्रह गर्दा पनि एमालेका कोही नेता नआएको बताएका हुन् ।

उनले ठूलो पार्टी सानो हुने र सानो पार्टी ठूलो हुने प्रक्रिया जारी रहने बताए । महाधिवेशनमा एमाले नआएर एकीकृत समाजवादीलाई कुनै धक्का नलागेको बताए । उनले एमालेले मुलुक र कार्यकर्तालाई छहारी नदिएकाले विद्रोह गर्नुपरेको उनले बताए । ‘हामीले निम्तो गरेको हो । धेरै पटक प्रयास गर्यौं । उहाँहरु आउनुभएन । उहाँहरु नआउँदा हामीलाई धक्का लाग्नुपर्ने कुरा केही पनि छैन,’– उनले भने ।

एमालेले आफूलाई आवश्यक पर्दा एकीकृत समाजवादीलाई पार्टी मान्ने गरेको उनको टिप्पणी छ । उनले एमालेको स्वभव नै आफूलाई आफूलाई आवश्यक पर्दा भेट्ने, विन्तिभाउ गर्ने र सहयोग माग्ने रहेको उनले बताए । ‘उसलाई आवश्यकता पर्दा पार्टी मान्छ । आउँछ, भेट्छ, विन्तीभाउ गर्छ, सहयोग गर्नुपर्यो भन्छ । उसलाई आवश्यकता नपरेको बेलामा आउँदैन, उसको स्वभाव त्यस्तै छ,’– उनले भने ।

एकीकृत समाजवादीले कसैसँग सम्झौता र दुस्मनी नगर्ने उनको भनाइ छ । उनले कसैसँग आकांक्षा र पूर्वाग्रह एकीकृत समाजवादीले नराख्ने बताउँदै सबैसँग सौहार्द प्रतिस्पर्धा रहने बताए । एमाले अध्यक्ष ओली र अन्य नेताहरु महाधिवेशनमा नआएर एकीकृत समाजवादीलाई झनै फाइदा भएको उनको भनाइ छ । उनले एकीकृत समाजवादीमा एमाले र एमाले अध्यक्ष ओलीप्रति थप घृणा थपिएको बताए ।

‘हाम्रो पार्टीका कार्यकताभित्र आज नेकपा (एमाले) र केपी ओलीप्रति आजका मितिदेखि झन थप घृणा थपिएको छ । उहाँले हाम्रो पार्टीसँग दुरी कायम गर्न खोज्नुभएको छ । झन राम्रो कुरा हो,’– उनले भने ।

एकीकृत समाजवादीको १०औं महाधिवेशन हिजो (असार १६) गतेबाट सुरु भएको छ । महाधिवेशनको उद्घाटन समारोहमा एमालेबाहेक संसद्मा भएका सबै र संसद् बाहिर रहेका वामपन्थी दलहरुको नेताहरु सहभागी भएर शुभकामना दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot