Logo

उपमहासचिव खतिवडाको दाबी ‘सत्ताको चाबी एकीकृत समाजवादीसँग मात्रै छ’ (भिडिओसहित)



काठमाडौं, १७ असार । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरुसँग मात्रै सत्ताको चाबी रहेको दाबी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एकीकृत समाजवादीसँग रहेको सत्ताको चाबीले नै प्रधानमन्त्री बनाएको दाबी गरेका हुन् । उनले एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत कोहीसँग पनि सत्ताको चाबी नरहेको बताए ।

‘हामीसँग सत्ताको चाबी छ, त्यो चाबी पनि ठीक ठाँउमा सन्तुलन मिलेर घुमीघुमी आयो भने छ । अरु कोहीसँग पनि छैन क्या । कांग्रेससँग छ त आज सत्ताको चाबी ? एमालेसँग छ त ? छैन । यिनीमध्ये तीन चार वटा मिलेपनि हाम्रो सिटको पनि महत्व हुन्छ । चाबी फिट गर्ने काम हामीले गर्दिएका थियौं र प्रचण्ड प्रधानमन्त्री बन्नुभयो,’– उनले भने ।

उनले एकीकृत समाजवादीविना सरकार बनाएर देखाउन चुनौति दिए । एकीकृत समाजवादीविना सरकार बनाएको खण्डमा आफूहरु प्रतिपक्षमा बस्न तयार रहेको उनले बताए । ‘हामीविना सरकार बनाउन सक्नुहुन्छ भने बनाउनुस्, बनाएर देखाउनुस् । हामी प्रतिपक्षमा बस्छौं । अस्ती हामीविना सरकार बनाउन सक्नुभएन हामीसँग सल्लाह गर्न आउनुभयो । हामीलाई अनुरोध गर्नुभयो । अब हामीविना चल्छ भन्ने लाग्यो भने हामी बाहिर बस्दिउँला । कुनै ठूलो कुरा छैन, अब साढे तीन वर्ष हो,’– उनले भने ।

उनले एकीकृत समाजवादीको १०औं महाधिवेनमा अहिले नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको बताए । नेता खतिवडाले सहमति हुने सम्भावना प्रवल रहेको र सहमति हुन नसके चुनावमार्फत निश्कर्ष खोजिने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot