Logo

एकीकृत समाजवाचदीको नेतृत्व छान्न विद्युतीय मेसिनबाट मतदान हुने, खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन



काठमाडौं,१७ असार । नेकपा एकीकृत समाजवादीले विद्युतीय मेसिनबाट मतदान गरि निर्वाचन सम्पन्न गर्ने भएको छ । हिजोबाट सुरु भएको महाधिवेशनमा आज बन्दसत्र सुरु हुँदैछ ।

महाधिवेशन सम्पन्न गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ । त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी नेताहरू डा।गंगालाल तुलाधर र डा।विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ ।

बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा हुने एकीकृत समाजवादीले जनाएको छ । बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमा छलफल हुनेछ ।

एमालेबाट अलग्गिएपछि एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गरेको हो । यो महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।महाधिवेशनमा सहमतिबाटै नेतृत्व चयनको कोशिस गरिएपनि अहिलेसम्मका प्रयास असफल भएका छन् ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल अध्यक्षले अध्यक्षको दाबी छाडेपनि अध्यक्ष माधव कुमार नेपाल फेरि दोहोरिने प्रयासमा छन् । अध्यक्षमा दोहोरिने माधवको चाहनालाई महासचिव घनश्याम भुसालले चूनौति दिइरहेका छन् ।

अध्यक्ष पदका लागि नेपाल–भुसालको प्रतिस्पर्धा निश्चित भएको नेताहरु बताउँछन् । भुसालले दाबी नछाडेसम्म अध्यक्षमा सर्वसम्मत हुने माधवको चाहना पूरा नहुने निश्चित छ । प्रतिस्पर्धामा जाँदा युवा पुस्ताको साथ भुसालतर्फ छ ।

हाल सचिवको भूमिकामा रहेकी रामकुमारी झाँक्री भुसाललाई अध्यक्षमा उठाएर आफू महासचिवमा इन्ट्री गर्ने तयारीमा छिन् । भुसाललाई सम्मानित नेता खनालको पनि साथ छ । स्रोतका अनुसार अध्यक्षमा सघाउनेबारे भुसाल र खनालको समझदारी बनिसकेको छ ।

नेतृत्व छनोटका लागि एक हजार आठसय ५० जना प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । सर्वसम्मत नेतृत्व चयन नभएमा नेपाल–भुसालबीच कडा प्रतिस्पर्धा हुने आँकलन छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot