Logo

प्रचण्ड गतिशील नेता हुन्, कांग्रेससँग पुनः सहकार्य गर्न सक्छन्ः राजेन्द्र पाण्डे



काठमाडौं, १७ असार । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले एमाले र कांग्रेस मिलेर सरकार बनाएको खण्डमा देशका लागि दुर्भाग्य हुने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आगामी निर्वाचनमा एकल बहुमत ल्याउँछौं भनेर लागिरहेका दलहरु नै मिलेर सरकार बनाएको खण्डमा देशमा बेथिति मौलाउने बताएका हुन् । उनले एमाले र कांग्रेस मिलेर सकार बनाएको खण्डमा देशमा भ्रष्टाचार मौलाउने, अन्याय र अत्याचार बढ्ने दाबी गरे ।

‘सहकार्य नै भयो भने पनि त्यो दुर्भाग्यपूर्ण हुन्छ । आउँदो चुनावमा उनीअरु एकअर्काको प्रतिस्पर्धीहरु हुन् । कांग्रेसका नेताहरु पनि हामी चुनावमा हामी एक्ले लड्छौं, कांग्रेसले कांग्रेसलाई मत हाल्नुपर्छ अरुलाई दिन हुँदैन भनेर विचार बनाएर बसिरहेका छन् । एमाले मिसन ०८४, हामी एक्लै सरकार बनाउने ठाउँमा पुग्छौं भन्दैछ । दुईटा नै एक्लाएक्लै सरकार बनाउँछौं भन्ने पार्टीहरुको बीचमा आउँदो चुनावमा चाहीँ कसको विरुद्ध लड्ने उनीहरु ?’ प्रश्न गर्दै उनले भने, ‘जसका विरुद्ध लड्ने हो, त्यसले जनमत बनाउन अहिलेदेखि लाग्नुपर्ने ठाउँमा सरकारमा हिँडे भने चुनावमा के भनेर जान्छन् ? यो अपवित्र गठबन्धन हुन्छ । यस्तो गठबन्धनले देशलाई अझ बढी संकटमा पुर्याउँछ । हात्तीहरु मिले भनेपनि जंगलको नाश, हात्तीहरु झडगा गरे भनेपनि जंगलको नाश ।’

उनले प्रमुख दुई ठूला दलबाट बनेको समीकरणले देशलाई निश्कर्ष नभएर थप बर्वादीतर्फ धकेल्ने बताए । उनले एमाले र कांग्रेस मिलेर सरकार बनाएको खण्डमा नेपाली जनताले यो व्यवस्था पनि ठीक छैन भनेर विरोध गर्ने अवस्था आउने बताए । उनले बरु कांग्रेस र माओवादीबीचमा गठबन्धन सम्भव रहेको बताए ।

‘यो देशको सबैभन्दा बढी चलायमन, गतिशील र कोल्टो फेर्नसक्ने सिपालु मान्छे हो प्रचण्ड । फेरि प्रधानमन्त्री पद बचाइदिन्छौ भने म तिमीहरुसँग आउन सक्छु भन्ने खालको कुरा गर्न सक्छन् । त्यो कुरा कांग्रेसले स्वीकार गर्यो भने गठबन्धन परिवर्तन त भइहाल्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot