Logo

ओली र देउवाको भेटपछि सदनमा कांग्रेसले भन्यो: एमाले र कांग्रेसको सहकार्य आवश्यक छ



काठमाडौं,१७ असार । नेपाली कांग्रेसका सांसद दीपक गिरीले एमाले र आफ्नो दलबीच मिलेर अघि बढ्न सक्ने आधार बनेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गिरीले दुई दलबीचको सहकार्यको माध्यमबाट देशमा देखिएको चरम निरासा र वेथितिको अन्त्य हुने बताउँदै दुई दलबीच सहकार्य हुन् लागेको बताए । सांसद गिरीले दुई दलका शीर्ष नेताबीच भेटघाट हुँदैमा डराउनु नपर्ने बताए ।

उनले भने, ‘निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका महत्त्वपूर्ण संविधान संशोधन गर्न छलफल आवश्यक छ। संविधान संशोधन गर्नको लागि अन्य दलसँग पनि छलफल गरिनुपर्छ। यी दुई ठूला दलको संवादबाट कोही आत्तिनुपर्ने अवस्था छैन। सकारात्मक रूपमा लिनुपर्छ।’

सांसद गिरीले २ नेताबीचको भेटवार्ताले आसाको सञ्चार जागेको दाबी गरे । उनले भने, ‘चारैतिर निराशा फैलिरहेको बेला संसदका दुई ठूला दल कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीबीच गम्भीर छलफल भएको थियो । सो छलफलमा दुई पार्टीबीच मिलेर नयाँ सरकार गठन गर्नेसम्मको सहमति जुटेको स्रोतको दाबी छ । एमालेसँगको छलफल सकारात्मक भएपछि निर्णय गर्न कांग्रेसले आज संसदीय दलको बैठकसमेत डाकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot