Logo

ओली-देउवाबीच भेटवार्ता हुँदैमा सत्ता समीकरण उलटफेर हुँदैनः माधव सापकोटा



काठमाडौं, १७ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले शान्ति प्रक्रियाका बाँकी काम समग्र राष्ट्रको अस्तित्व र प्रतिष्ठासँग जोडिएको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले झट्ट हेर्दा शान्ति प्रक्रिया तत्कालीन विद्रोही माओवादी (माओवादी केन्द्र) को मात्रै विषयजस्तो देखिए पनि यसको अन्तर्य त्यस्तो नरहेको उनको भनाइ छ । शान्ति प्रक्रियाका विभिन्न बाँकी काम निश्कर्षमा नपुग्दा नेपाली सेना समेत राष्ट्रिय, अन्तर्राष्ट्रिय फोरममा आलोचित हुनुपरेको बताए ।

‘संसारले नै नियालेर हेरिराखेको शान्ति प्रक्रियाका कामलाई निश्कर्षमा पुर्याउन सकेका छैनौं र त्यो अड्किराखेको छ । कतिपय अवस्थामा शान्ति प्रक्रिया सत्ताको बार्गेनिङ चिप्सजस्तो पनि भइरहेको छ । झट्ट हेर्दा तत्कालीन विद्रोही माओवादीको मात्रै राजनीतिक विषयस्तो बनाइएको छ । हाम्रो सिंगै देशको सुरक्षाको जिम्मा लिएको नेपाली सेनासँग समेत यो विषय सम्बन्धित छ,’– उनले भने ।

नेता सापकोृटाले शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन विलम्ब गर्न नहुने बताए । केही दिनअघि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको गम्भीर बैठक आयोजना भएको र विषय सकारात्मक रहेको बताउँदै उनले तदारुकताका साथ शान्ति प्रक्रियाका काम टुङ्गोमा पुर्याउन आग्रह गरे ।

उनले शान्ति प्रक्रियाका बाँकी काम छिटोभन्दा छिटो टुङ्ग्याउन तत्कालीन ७ राजनीतिक दलका नेताहरुको ध्यानाकार्षण गराए । अन्य राजनीतिक शक्तिहरुले सहयोगीको भूमिका खेलेर शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

साथै, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुँदैमा सत्ता समीकरणमा उलटफेर नआउने बताए । दुई शीर्ष नेताहरुको भेटवार्ता हुँदैमा सत्ता समीकरणमा परिवर्तन आउँछ भनेर विश्लेषण गर्नुले समाजमा राम्रो सन्देश नजाने बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot