Logo

विभिन्न कालखण्डका २५ वटा भ्रष्टाचार छानविनका लागि शक्तिशाली आयोग बनाउने तयारी



काठमाडौं, १७ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न कालखण्डमा भएका भ्रष्टाचारमध्ये २५ वटा काण्डको छानविनका लागि शक्तिशाली आयोग बनाउने तयारी भइरहेको बताएका छन् । आज (सोमबार) गृह मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिँदै उनले बजेट र नीति कार्यक्रममा व्यवस्था भएअनुसार भ्रष्टाचारका विभिन्न काण्ड छानविनका लागि आयोग बनाउनेतर्फ सरकार अगाडि बढेको बताएका हुन् ।

उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले इमानदार रुपमा प्रयास गरिरहेको बताए । भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुुसन्धान आयोग रहेपनि राजनीतिको दाउपेचमा परिरहेको बताए ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेले भ्रष्टाचारी कानुनी कारबाहीको दायरामा आउँछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्न जरुरी रहेको बताए । उनले भ्रष्टाचारका घटनाहरु राजनीतिक दाउपेचको सिकार हुने गरेको पनि स्वीकार गरे ।

‘बजेटमा र नीति कार्यक्रममा व्यवस्था भएअनुसार भइरहेको काण्डहरुको मात्र होईन, कुनै पनि कालखण्डमा भएका काण्डहरु मध्ये २५ वटा काण्डहरुलाई छानविन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा मैले सम्मानित सदनमार्फत जानकारी गराइसकेको छु । त्यसकारण कोही पनि बेचैन हुनुपर्दैन,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot