Logo

एकीकृत समाजवादीमा माधव र घनश्यामको नाममा नेताहरुको कित्ताकाट, अलमलमा रामकुमारी झाँक्री



काठमाडौं,१७ असार । नेकपा एकीकृत समाजवादीको महाधिवेशन जारी छ । आइतबारबाट जारी महाधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा नेताहरुले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्नेछन् ।

महाधिवेशन सम्पन्न गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ । त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी नेताहरू डा।गंगालाल तुलाधर र डा।विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ ।

एमालेबाट अलग्गिएपछि एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गरेको हो । यो महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।महाधिवेशनमा सहमतिबाटै नेतृत्व चयनको कोशिस गरिएपनि अहिलेसम्मका प्रयास असफल भएका छन् ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल अध्यक्षले अध्यक्षको दाबी छाडेपनि अध्यक्ष माधव कुमार नेपाल फेरि दोहोरिने प्रयासमा छन् । अध्यक्षमा दोहोरिने माधवको चाहनालाई महासचिव घनश्याम भुसालले चूनौति दिइरहेका छन् ।

अध्यक्ष पदका लागि नेपाल–भुसालको प्रतिस्पर्धा निश्चित भएको नेताहरु बताउँछन् । भुसालले दाबी नछाडेसम्म अध्यक्षमा सर्वसम्मत हुने माधवको चाहना पूरा नहुने निश्चित छ । प्रतिस्पर्धामा जाँदा युवा पुस्ताको साथ भुसालतर्फ छ ।

नेपाल र भुसालले अध्यक्षमा भिड्ने तयारी गरिरहँदा पदाधिकारी तहका नेताहरुले पनि आफ्नो कित्ता प्रष्ट पार्न थालेका छन् । मधव नेपालको पक्षमा वेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, जयन्ती राई, केशवलाल श्रेष्ठ, प्रमेश हमाल, राजेन्द्र राई, जगन्नाथ खतिवडा, गंगालाल तुलाधारलगायत छन्।

घनश्याम भुसालका पक्षमा घनेन्द्र बस्नेत, प्रकाश ज्वाला, डा। विजय पौडेल, गरिमा शाह, जीवनराम श्रेष्ठ, हरि पराजुलीलगायतका नेता छन्।

यता हाल सचिवसमेत रहेकी चर्चित नेत्री रामकुमारी झाँक्री भने दोधारमा परेकी छन् । उनले भुसाल समूहले महासचिवका लागि तयारी अवस्थामा रहन भनेपनि उनले अहिले नै निर्णय गर्न नसक्ने जवाफ दिएका छिन् । त्यसोत झाँक्रीलाई माधव नेपाल समूहले चुनाव हुने अवस्था हाएमा उपाध्यक्षमा उठाउने सम्भावना पनि छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot