Logo

प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी सिफारिस



काठमाडौं । प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नाम सिफारिस भएको छ । सभामुख देवराज घिमिरेले अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्ति गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् ।

राष्ट्रपतिले नियुक्ति गर्न साथ अधिकारीले प्रतिनिधि सभाको सचिवका रूपमा काम गर्नेछन् । प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डे महासचिव बनेपछि उक्त पद रिक्त थियो । उक्त ठाउँमा अधिकारी सिफारिस भएका हुन् ।

गत बैशाख १७ गते शिक्षा सचिवबाट अवकाश पाएका अधिकारी कोशी प्रदेशको लोकसेवा आयोग अध्यक्ष बन्ने चर्चा थियो । तर, उनी प्रतिनिधि सभाको सचिव बन्ने भएका हुन् ।

केही समय अगाडि मुख्यसचिव बन्ने चर्चामा रहेका अधिकारी तत्कालीन मुख्यसचिव डा। बैकुण्ठ अर्याललाई ढिला भ्रष्टाचारको मुद्दा लाग्दा उक्त अवसरबाट बञ्चित भएका थिए । उनले प्रतिनिधि सभाको सचिव हुने मौका पाएका छन् । उस्तै परे अधिकारी प्रतिनिधि सभाको महासचिव समेत बन्न सक्छन् ।

कोशी प्रदेशको प्रमुख सचिव, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, संघीय मामिला तथा सामन्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायतका सचिव बनेर काम गरिसकेका अधिकारी निकै सरल प्रशासक हुन् । उनी समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने व्यक्तिका रूपमा परिचित छन् । अधिकारी संखुवासभाका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot