Logo

कांग्रेसको निश्कर्षः बीआरआई परियोजना ऋणमा स्वीकार गर्न सकिँदैन



काठमाडौं, १७ असार । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले चिनियाँ महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ऋणमा स्वीकार गर्न नहुने निश्कर्ष निकालेको छ । आज (सोमबार) बसेको बैठकले बीआरआई परियोजना अनुदानमा मात्रै स्वीकार गर्न सकिने निश्कर्ष निकालेको हो ।

कांग्रेस केन्द्रीय प्रचार विभागका प्रमुख मीन विश्वकर्माले मन्त्रिपरिषद्मा समेत छलफल भएको बीआरआई परियोजनाबारे पार्टी पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठकमा छलफल भएको बताए । उनले अहिले बीआरआई चर्चामा आएको र चिनियाँ मन्त्री नेपाल आउने, नेपालका मन्त्री चीन जाने क्रम चलिरहँदा यसबारे छलफल गरिएको बताए ।

उनले बीआरआई योजनाबारे कांग्रेसको धारणा नकरात्मक नरहेको बताउँदै उनले ऋण स्वीकार गर्न नेपालको क्षमताले नधान्ने बताए ।‘यसबारेमा नेपाली कांग्रेसको धारणा अनुदानको रुपमा लिने गरी त्यस्तो खालको सहयोग नेपाली कांग्रेस सहर्ष रुपमा स्वीकार गर्छ । तर, ऋण लिनको लागि सक्षम छैन । बीआरआईको आयोजना, योजना, सहयोगका बारेमा कांग्रेस नकारात्मक छैन । तर, कांग्रेस नेपालको क्षमताको आधारमा अनुदानमा लिँदा राम्रो हुन्छ,’– नेता विश्वकर्माले भने ।

आजको बैठकमा महासमिति बैठकबाट पारित गरिएको र केन्द्रीय समितिले परिमार्जनसहित अन्तिम रुप दिने भनिएको दस्तावेज केन्द्रीय कार्यसमितिका लैजानका लागि पनि छलफल भएको उनले सुनाए । भातृ संस्थाहरु धेरैजसोको समयावधि गत असार १५ मै सकिएको र समयावधि के गर्ने भन्ने सन्दर्भमा छलफल भएको नेता विश्वकर्माले बताए । उनका अनुसार बैठकमा भातृ संस्थाहरुको समयावधि थप्नुपर्ने धारणा बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot