Logo

प्रधानमन्त्री प्रचण्डको प्रवृत्ति र अर्थमन्त्री पुनका कारण सत्ता समीकरण दुर्घटनामा परेको एमालेको निश्कर्ष



काठमाडौं, १८ असोज । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाक्षेत्रीले माओवादीले सहकार्यको दुरुपयोग गरेको आरोप लगाएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ मा बजेट ल्याउँदा नै यो गठबन्धन दुर्घटनामा परेको बताएका हुन् । उनले अर्थमन्त्री पुनले पक्षपातपूर्ण तरिकाले बजेट विनियोजन गरेको उनको भनाइ छ ।

‘मुलुकलाई अघि बढाउने, अर्थतन्त्रका संकट समाधान गर्ने, विकास निर्माणलाई तीब्रता दिने, जनताका आकांक्षाहरुलाई सम्बोधन गर्नेजस्ता काम सरकारले गर्न सकेन । जेठ १५ को बजेटले त त्यसमा चिसो पानी खन्याउने काम गर्यो ।’ उनले भने, ‘अर्थमन्त्री वर्षमान पुनले महान जनयुद्धको स्तुतिगान गाउँदै सहिदहरुलाई पनि पहिलो, दोस्रो, तेस्रो भन्ने ढंगले उल्लेख गर्दै बजेट विनियोजनमा पूरै पक्षपात, रोल्पाका लागि सबै विधि प्रक्रिया मिच्न तयार हुने, तर सन्तुलित विकासको आवश्यकतामा आधारित भएर बजेट ल्याउने काम गर्न सक्नुभएन । त्यो गठबन्धन खासमा भन्नुहुन्छ भने जेट १५ मा दुर्घटनामा परेको थियो ।’

आफूहरुले एक महिना संसदीय वाध्यतामात्रै पूरा गरेको बताए । अर्थमन्त्री पुनले ल्याएको बजेट न्यायपूर्ण थियो भनेर कुनै पनि सांसदले नभनेको बताए । समृद्ध नेपाल, सुखी नेपाली भन्ने एउटा नारा एमालेको हालेर बाँकी सबै जनयुद्धको स्तुतिगान भएको उनको आरोप छ । उनले माओवादीले भन्ने गरेको जनयुद्ध जनयुद्ध नै नभएको जिकिर गरे । अर्थमन्त्री पुनले सहकार्यको दुरुपयोग गरेको गठबन्धन दुर्घटनामा परेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot